प्रदेश १ का ‍रोजगारदातालाई सामाजिक सुरक्षा कोषबारे अभिमुखिकरण



विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको उपयोगीताबारे मोरङ र सुनसरीका औद्योगिक क्षेत्रका रोजगारदाताहरुलाई अभिमुखिकरण दिएकाे छ ।

नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) प्रदेश नं. १ को आयोजनामा बिहीबार विराटनगरमा अभिमुखिकरण दिएकाे हो ।

एफएनसीसीआई केन्द्रीय समितिसँगको सहकार्यमा एफएनसीसीआई प्रदेश नं. १ ले विभिन्न क्षेत्रका ४० जना रोजगारदाता उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुलाई अभिमुखिकरण दिएकाे छ ।

महासंघका केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक सुरक्षा कोष कार्यान्वयनको विकल्प नरहेको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका मोरङ र सुनसरी जिल्लामा रहेका मुख्य रोजगारदाता निकायहरु, औधोगिक प्रतिष्ठानहरुबीच एकरुपता कायम गर्न अभिमुखिकरण आयोजना गरिएको जनाइएको छ ।

नेपालमा हालसम्म १७ हजार ५०० रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको र ३ लाख ७५ हजार जना कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

नेपालमा पहिलोपटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएको थियो । हाल सामाजिक सुरक्षा भत्तासहित ८५ वटा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम संचालित रहेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा भने २०७६ साउनदेखि औपचारिक क्षेत्रबाट सुरु भएको थियो । त्यसको कार्यान्वयनको काम सामाजिक सुरक्षा कोषले गर्दै आएको छ ।


क्लिकमान्डु