एमालेले बहुमत ल्याउँछ: नेम्वाङ



इलाम । नेकपा (एमाले)का उपाध्यक्ष तथा इलाम क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले संसदीय प्रणालीमा विश्वास गर्ने एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका छन् ।

मङ्सिर ४ पछि एमाले बहुमतसहित जनताको मत लिएर सिंहदरबार पस्ने दाबी गर्दै नेम्वाङले जनतालाई मत दिन आग्रह गरे ।

इलाम नगरपालिका–९ वडा कमिटीले आयोजना गरेको चुनाव प्रसार–प्रचार कार्यक्रममा उनले देशव्यापीरूपमा आफ्ना एजेण्डासहित एमाले हाल जनताका घर–घरमा पुगेको जानकारी दिए ।

विगत वर्षमा अन्य निर्वाचन क्षेत्रमा समेत सघाउन जाने नेता नेम्वाङले यसपटक यहाँका जनतालाई बुझाउनसमेत बाहिर जान नभ्याउने बताए ।

निर्वाचनबाट जनताले काम गर्नसक्ने सरकार बनाउने उनको दाबी छ । नेता नेम्वाङले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदासमेत सरकार चुप लागेर बसेको आरोप लगाए ।

आफ्नो पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको बताउँदै उनले सोहीअनुसार अघि बढ्ने बताए । नेता नेम्वाङ हाल इलाम क्षेत्र नं २ मा मत माग्न घरदैलो तथा चुनावीसभामा व्यस्त छन् ।


क्लिकमान्डु