यस्तो देखियो चन्द्रग्रहण, कुन राशिले हेर्न मिल्छ ?



काठमाडौं । यतिबेला ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागिरहेको छ । नेपाल, भारत, पाकिस्तान लगायतबाट यतिबेला चन्द्रग्रहण देख्न सकिन्छ ।

साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । सामाखुसीस्थित एकेडेमी भवनको छतबाट निःशुल्क चन्द्रग्रहण देखाउने व्यवस्था गरिएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिएको छ । बेलुकी ५:२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

बेलुकी ६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने उनले बताए ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।

तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको ढुङ्गेलले जानकारी दिए ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ ।


क्लिकमान्डु