पाल्पाको सत्यवतीमा चिच्याएर वर माग्ने मेला



पाल्पा । पाल्पाको सत्यवतीमा आज चिच्चाएर वर माग्ने धार्मिक मेला लागेको छ । सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वदरदान माग्नुपरेको जनविश्वास रहिआएको छ ।

सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरीपरी घुम्दै चिच्चाएर वरदान माग्ने गर्दछन् ।

सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । दर्शनका लागि र वर माग्न मन्दिर पुगेका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरहरु पूरा हुँदै आइरहेको बताए । उनीहरुले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरहरु सानैदेखि पूरा हुँदै आएको दाबी गरे ।

भक्तजनले मागेका कुराहरु सत्यवती बज्यले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यतिकै जंगलमा छाडिदिने प्रचालन रहँदै आएको छ ।

सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको भीड छ । वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् ।१२ महिना पर्यटकलाई ल्याउनसके सो क्षेत्रको विकास हुन समय नलाग्ने उनी बताउँछन् ।

सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करीव १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ ।

परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।


क्लिकमान्डु