निर्वाचनको भीडभाडले कोरोनाको नयाँ भेरियन्ट फैलन सक्छ, सचेत रहनुस् : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए ।

देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेकोले सावधानी आवश्यक रहेको उनको भनाइ थियो ।

‘कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडि लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ’ उनले भने ।

भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ छ ।

डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान आग्रह गरे ।

‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ’ उनले भने ।

विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको र नेपालमा पनि विगतकोभन्दा सहज अवस्था रहेको भए पनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले बताए ।

नेपालमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको उनले बताए ।

‘हामी कहाँ विगतको भन्दा सहज अवस्था हुँदै गएको देखिन्छ । तर नयाँ भेरियन्टहरुको सम्भावना, पुष्टि हुने कुरा, त्यसका बारेमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने कुराहरुदेखि राखिएको र कहिलेकाहीँ सन्जोगले अलि जोखिमपूर्ण भेरियन्ट आउँछ की भन्ने कुरामा शतर्क रहनुपर्ने अवस्थाहरु देखिन्छ । हामीकहाँ अहिले पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको अवस्था छ’, उनले भने, ‘ संक्रमण पुष्टि हुने दर अथवा मानिसहरु समुदायमा बिरामी हुने दरहरु, अस्पताल भर्ना हुने, समग्र कुराहरु हेर्ने हो भने अहिले त्यस्तो धेरै त देखिन्न । अहिले सिजनल फ्लूसँग पनि जोडिएर डेङ्गुको पनि प्रकोप एकातिर छ । कोभिडको संक्रमण पनि सँगसँगै रहेर पनि मानिसहरु एकातिर केन्द्रित भएको हुनसक्छ ।’

डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोडभन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए । ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि उनले बताए ।


क्लिकमान्डु