भारतबाट इन्धनमा बढेर आयो मूल्य सूची, नेपालमा के होला ?



काठमाडौं । नेपालमा भारतबाट आयात हुने इन्धनको मूल्य बढेर आएको छ । भारतबाट मूल्य सूची बढेर आए पनि नेपालमा भने इन्धनमा भएको हालकै मूल्य रहने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा इण्डियन आयल कर्पोरेसनबाट नेपालमा आयात हुने इन्धनहरुमा पेट्रोलमा प्रतिलिटर ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ प्रतिलिटर, मट्टितेलमा ४.०१ प्रतिलिटर र हवाई इन्धनमा ४.७७ रुपैयाँ प्रतिलिटर मूल्य बढेर आएको हो ।

निगमकाअनुसार एल.पि. ग्यासमा भने मूल्य घटेर नयाँ मूल्य सूची आएको छ । तर, कति घटेको भन्ने बारे निगमले खुलाएको छैन।

निगमकाअनुसार हाल डिजेलमा प्रतिलिटर १२.१४ रुपैयाँ र एल.पी ग्यासमा प्रति सिलिण्डर २२८.८४ रुपैयाँ घाटा बेहोरिरहेको छ। पछिल्लो १५ दिनमा डिजेलमा ५८.१० करोड र एलपी ग्यासमा २३.३२ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ । भारतबाट नयाँ मूल्यसूची आउँदा निगमले आगामी १५ दिनमा करिब १८ करोडमात्र नाफा हुने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा र प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको र अमेरिकी डलरसँग नेपाली मुद्राको बिनिमय दर कमजोर हुँदै गएकाले इन्धनको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको निगमको भनाइ छ । यहि कारण इन्धनको मूल्य यथावत रहने निगमले जनाएको छ ।


क्लिकमान्डु