रियल स्टिल कम्पनीले एकै वर्ष गर्‍यो साढे १ अर्बको व्यापार



काठमाडौं । रियल स्टिल प्रालिले एकै वर्ष करिब साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा १ अर्ब १५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२० बाट मात्रै आफ्नो व्यापार शुरु गरेको थियो ।

कम्पनीले वार्षिक ४९ हजार ८०० मेट्रिक टन टीएमटी बार, एमएस पाइप, शटर पत्ति, शटर गाइड, हट रोल्ड (एचआर) कोयल/शिट, कोल्ड रोल्ड (सीआर) कोयल/शिट, लक प्लेट, कान प्लेट र शटर स्प्रिङ उत्पादन क्षमता छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड १९ लाख रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि १ अर्ब ७ करोड ५० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीको व्यापार वार्षिक रुपमा १९ प्रतिशतले बढेको जनाएको छ । कम्पनीअनुसार सन् २०२२ मा व्यापार बढेपनि नाफा भने घटेको देखिन्छ । कम्पनीले सन् २०२१ मा १०.८५ प्रतिशतले कमाएको थियो । सन् २०२२ मा ८.१० प्रतिशतले कमाएको छ ।

कम्पनीले स्टिलजन्य वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ हट रोल्ड र कोल्ड रोल्ड भारतबाट आयात गर्दै आएको छ । पछिल्लो समय कच्चा पदाथएको मूल्य अप्रत्याशित रुपमा बढेकाले नै कम्पनीको नाफा घटेको जनाएको छ ।

कम्पनीमा प्रेम कुमार जटिया अध्यक्ष र दिपक खन्ना कार्यकारी निर्देशक छन् ।


क्लिकमान्डु