हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिन लागेको बारे आयोगले सोध्यो स्पष्टीकरण



काठमाडौं । ग्राउण्ड ह्याण्डलिङको जिम्मा हिमालय एयरलाइन्सलाई दिन लागेको विषयमा निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग स्पष्टीकरण सोधेको छ ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पनि हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ दिन लागेको विषयमा बिहीबार स्पष्टीकरण सोधको छ ।

आयोगले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक ग्राउण्ड ह्याण्लिङ दिन लागेको विषयमा पनि स्पष्ट पार्न निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता लागेको समयमा एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिन लागिएको हो वा होइन भन्ने विषयमा प्रष्ट पार्न मन्त्रालय र प्राधिकरणलाई आयोगले निर्देशन दिएको हो ।

हाल विमानस्थलमा नेपाल वायु सेवा निगमले ग्राउण्ड ह्याण्डलिङको काम गर्दै आएको छ । निगमलाई वार्षिक करिब २५ करोड रुपैयाँ तिरेर हिमालय एयरलाइन्सले निगमबाट ग्राउण्ड ह्याण्डलिङ सेवा लिने गरेको छ ।

यस्तै भैरहवामा पनि एक वर्षका लागि ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमलाई दिइएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्राउण्ड ह्याण्डलिङ सेवा दिएर वार्षिक करिब ४ अर्ब रुपैयाँ कमाउने गर्छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगमको आम्दानी घटाउने गरि हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्ललिङ गर्न दिने तयारी गरेका छन् ।


क्लिकमान्डु