तरलता अभाव छैन, लगानीयोग्य रकम अभाव भएको हो: श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् ।

बिहीबार तराई विकास तथा सन्चार केन्द्र नेपालले आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सन्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक अन्तक्रिया कार्यक्रममा उनले अहिले बैंकर्सहरुले तरलता अभाव भयो भने पनि गलत भएको दाबी गरे ।

नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ थियो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो भएको उनले बताए ।

अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था नरहेको बताए । उनले सञ्चिति बोर्डर लाइनमा रहेको बताए ।

विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने उनले बताए । अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको बताउँदै उनले २०७४ मा १२.४७ प्रतिशत पुगेको स्मरण गराए । त्यसैले यो अहिलेसम्मकै धेरै नरहेको उनको तर्क थियो ।

नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको उनको भनाइ थियो । नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उनले बताए । नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको बताए ।


क्लिकमान्डु