३० वर्षभित्र रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा



काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विसं २११० सम्ममा रोजगारीका लागि विदेश जाने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

आगामी निर्वाचनका लागि बिहीबार वाचापत्र सार्वजनिक गर्दै पार्टीले ३० वर्षभित्र रोजगारीका लागि विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको हो ।

मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा २११० सम्ममा नेपाल समाजवादमा प्रवेश गर्ने बताउँदै विभिन्न प्रतिबद्धताहरु प्रस्तुत गरिएका छन् ।

पार्टीको वाचापत्रमा विसं २११० सम्ममा रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने, गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुने र सबै नागरिकको सामाजिक र अर्थिक सुरक्षाको ग्यारेन्टी हुनेजस्ता प्रतिबद्धताहरु गरिएको छ ।

पार्टीको बाचापत्रमा भनिएको छ, ‘शिक्षा र स्वास्थ्यलाई सामुदायिकरण गरि गैर–नाफामुलक बनाइनेछ । नेपालमा अन्तराष्ट्रिय पयर्टन क्षेत्रमा चुन्न लायकको गन्तव्यको रुपमा मात्रै नभएर चुनिएको क्षेत्रको रुपमा स्थापित हुनेछ ।’

सँगै नेपालभरि कार्बन नेगेटिभ हुने, सबै नेपालीमा डिजिटल सुचनाको पहुँच हुने, डिजिटल तथा सुचना क्षेत्रमा हरेक नेपाली शिक्षित हुने तथा नेपाल अन्तराष्ट्रिय रुपमा डिजिटल हब हुनेजस्ता प्रतिबद्धताहरु पार्टीले वाचापत्रमा प्रस्तुत गरिएको छ ।


क्लिकमान्डु