एनआईसी एशिया बैंकको सीईओमा रोशन कुमार न्यौपाने पुनः नियुक्त




काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशन कुमार न्यौपाने पुनः एक कार्यकालका लागि नियुक्त भएका छन् ।

बैंकको आज बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको सीईओमा पुनः नियुक्त गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले कात्तिक १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।

न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका थिए ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आव २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्व–पुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरु, एटिएम, विस्तारित काउन्टर लगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ ।

चालू आ.व.को पहिलो त्रैमासमा खुद मुनाफातर्फ १ अर्ब ७५ करोड आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी स्व–पुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न बैंक सफल भएको छ । चालू आ.व. २०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब पु¥याउन सफल भएको छ ।


क्लिकमान्डु