चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ



मेलम्ची । सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्‍याउने उनी व्यस्त बन्छन् ।

बिहानभरी चाउमिन पुर्‍याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए ।

सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध छन् ।

कक्षा १० सम्मको अध्ययन पूरा गरेका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गरे । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनको भनाइ छ ।

‘धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो’, तामाङले भने, ‘हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।’

कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उनको भनाइ छ।

‘हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ’, तामाङले भने, ‘त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।’


क्लिकमान्डु