कांग्रेस घोषणापत्र: पुँजी बजारबारे यस्तो छ व्यवस्था



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित चुनावी घोषणापत्रमा सेयर बजारका विषयलाई पनि प्राथमिकता दिएर समावेश गरेको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पुँजी बाजारबारे मौन रहेको कांग्रेसले यसपटक भने यसबारे उल्लेख गरेको हो ।

कांग्रेसले जारी गरेको घोषणापत्रमा ‘धितोपत्र सम्बन्धी ऐन तथा कानूनमा सरोकारवालाहरुसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरुमा समसामयिक सुधार गर्ने, धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रुपमा विकास गर्ने र पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने पहल लिइने छ’ भन्ने व्यवस्था गरेको छ ।

सेयर बजारले गति लिँदा देशको अर्थतन्त्र बलियो हुने लगानीकर्ताहरुको भनाइ रहँदा दलहरुले यसमा चासो दिएका हुन् ।
लगानीकर्ताले पार्टीहरुले जारी गर्ने घोषणापत्र र त्यहाँ उल्लेख भएका विषयमा ध्यान दिने गर्छन् । आगामी पाँच वर्ष सरकार सञ्चालन गर्ने दलहरुले चुनाव अघि गर्ने प्रतिवद्धताले पनि प्रभाव पार्ने भएकाले त्यसलाई उनीहरुले विशेष ध्यान दिने गरेका हुन् ।

कांग्रेसले २०७४ को निर्वाचनमा जारी गरेको घोषणा पत्रमा ‘जर्जर र संकुचित अवस्थामा रहेको पञ्चायतकालीन राज्यकेन्द्रित अर्थ व्यवस्थालाई नेपाली कांग्रेसले उदार आर्थिक नीति अनुरुप प्रतिस्पर्धात्मक, आधुनिक र सामाजिक न्याय उन्मुख गराएको, अर्थतन्त्रको खुलापन र प्रतिस्पर्धात्मक रुपले सम्पूर्ण क्षेत्रको साधन, स्रोत, सीप क्षमतालाई सदुपयोग गर्ने निती लिएको र त्यसकै प्रभावस्वरुप पुँजी बजार आकर्षित गर्ने नीति प्रारम्भ भएको’ भन्ने उल्लेख रहेको थियो ।


क्लिकमान्डु