९ बीमा कम्पनीको बोनसदरः सूर्याको धेरै, कुन कम्पनीको कति ?



काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका छन्।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ, सूर्या, नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, प्राइम र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

बोनसदर सार्वजनिक गरेका यी ९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बोनसदर सूर्या लाइफले दिने भएको छ । कम्पनीले आव २०७७/७८ का लागि बीमितलाई अधिकतम ९० रूपैयाँसम्म बोनसदर दिने निर्णय गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको हो ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ९० रूपैयाँसम्म बोनसदर दिने भएको छ ।

आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७२ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

ज्योति लाइफले ७५ रूपैयाँसम्म दिने

ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई आव २०७७/७८ मा प्रतिहजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर दिने भएको छ । ज्योति लाइफले सार्वजनिक गरेको बोनसदर अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट बीमितलाई न्यूनतम प्रतिहजार ४३ रूपैयाँ बोनस दिएको थियो । अधिकतम बोनसदर ७५ रूपैयाँ थियो ।

एशियनको बढ्यो, अधिकतम ७५ रूपैयाँ पाइने

एशियन लाइफले अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बोनसदर बढाएको छ । कम्पनीले नाफामा सरिक हुने सबै जीवन बीमालेखको लागि प्रतिवर्ष प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म दिने भएको छ । कम्पनीले अघिल्लो वर्ष बीमितलाई न्यूनतम ३२ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दिएको थियो ।

मेट लाइफको स्थिर, अधिकतम ८० रूपैयाँ कायम

आर्थिक वर्ष २०७७/७८ मा मेट लाइफले मुनाफामा सरिक हुने बीमालेखहरूका लागि प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर कायम गरेको छ । मेट लाइफले अघिल्लो आवको तुलनामा बोनसदरलाई स्थिर राख्न सफल भएको हो ।

आव २०७६/७७ मा मेट लाइफले प्रतिहजार न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको थियो ।

नेपाल लाइफको स्थिर, अधिकतम ८२ रूपैयाँ कायम

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २०७८ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरूमा कायम हुने गरी बोनसदर निर्धारण गरेको हो ।

इन्स्योरेन्सले आव २०७६/७७ मा पनि प्रतिहजार न्यूनतम ५६ रूपैयाँ र अधिकतम ८२ रूपैयाँ बोनसदर दिएको थियो ।

नेशनलले ८५ रूपैयाँसम्म दिने

नेशनल लाइफले आर्थिक वर्ष २०७७/७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

नेशनलले पनि आव २०७६/७७ को तुलनामा बीमितलाइ दिने बोनसदर स्थिर राख्न सफल भएको हो । नेशनलले आव २०७६÷०७७ मा बीमितलाई प्रतिहजार न्यूनतम ६३ रूपैयाँ र अधिकतम ८५ रूपैयाँ नै बोनसदर दिएको थियो ।

आइएमई लाइफको अधिकतम ७० रूपैयाँ

आइएमई लाइफले आर्थिक वर्ष २०७७/७८ मा बीमितलाई प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँसम्म बोनसदर दिने भएको छ । इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा बीमितलाई दिने बोनसदर स्थिर राख्न सफल भएको हो । आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रूपैयाँ र अधिकतम ७० रूपैयाँ बोनसदर दिएको थियो ।

प्राइम लाइफका बीमितले अधिकतम ८० रूपैयाँसम्म पाउने

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले मुनाफामा सरिक हुने (बोनस आर्जन) गर्ने गरी जारी गरिएका जीवन बीमालेखहरूअन्तर्गत आव २०७७/७८ का लागि प्रतिहजार न्यूनतम ३५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर दिने भएको हो ।

आव २०७६/७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३२ रूपैयाँ र अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको थियो ।

सिटिजनले न्यूनतम २५ देखि अधिकतम ७५ रूपैयाँसम्म दिने

सिटिजन लाइफले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

आव २०७६/७६ को तुलनामा कम्पनीले दिने बोनसदर स्थिर रहेको हो ।

कम्पनीहरूकाअनुसार बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने छ ।

साथै, उल्लेखित बोनसदर अर्को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बमोजिम बीमा समितिबाट अर्को व्यवस्था गन स्वीकृत नभएसम्मका लागि यही बोनसदर कामय हुने कम्पनीहरुले जानकारी दिएका छन् ।

के हो बोनसदर ?

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तानी गर्ने प्रतिफललाई बोनसदर भनिन्छ  । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्ने गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । बीमितले पाउने बोनसदर हरेक वर्ष थपघट हुन्छ ।


क्लिकमान्डु