चीनका पूर्व राष्ट्रपति हू जिन्ताओलाई पार्टी अधिवेशनबाट किन निकालियो ?



सन् २००३ बाट २०१३ सम्म चीनका राष्ट्रपति बनका हू जिन्ताओलाई चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) को हरेक पाँच वर्षमा हुन कांग्रेसको समापन समारोहबाट बाहिर निकालिएको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियोमा कमजोर देखिएका ७९ वर्षका जिन्ताओ राष्ट्रपति सी जिनपिङको बायँ तर्फ कुर्सीमा बसेको देखिएको छ । जिन्ताओको बायँ ओर ली झांशु र बांग हुनिंग बसेका छन् । त्यस्तै जिनपिङको दायाँ निवर्तमान प्रधानमन्त्री की केकिया‌ग बसेका छन् ।

अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर हुलाई बाहिर निकालेको भए पनि त्यसको कारणबारे केही खुलाइएको छैन ।

चिनियाँ कम्युनिस्ट पार्टीको यो अधिवेशनबाट राष्ट्रपति सी जिन्पिङलाई ऐतिहासिक तेस्रो कार्यकालका लागि निर्वाचित गर्ने ठानिएको छ ।

प्रत्येक पाँच वर्षमा राजधानी बेइजिङमा हुने अधिवेशनले सीलाई माओ त्सेतुङपछिका सबैभन्दा शक्तिशाली नेताको रूपमा स्थापित गरेको छ ।

सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए । प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ ।

त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्‍याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगे ।

बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार पूर्वराष्ट्रपतिलाई हलबाट बाहिर जान भनिएको भिडिओ दृश्यले विश्वभरि ध्यानाकृष्ट भएको भए पनि चिनियाँ सरकारी पक्षले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

भिडिओमा हुले आफू बसिरहेको ठाउँबाट उठ्न आनाकानी गरेको देखिन्छ । यदि यस्तै भएको हो भने त्यो किन भन्ने प्रश्न उठेको मक्डोनल बताउँछन् ।

उनले आफूलाई बाहिरिन आग्रह गरिरहेका अधिकारीलाई के भने र बाहिरिँदै गर्दा राष्ट्रपति सीलाई के भने र सँगै रहेका प्रधानमन्त्री ली कछ्याङलाई धाप मार्दै के भने भन्ने अनेकौँ अनुमान गरिएको छ ।

उनी बाहिरिनुको कारणबारे विशेषतः दुई किसिमका अनुमान गरिएको छ ।

चीनमा जारी शक्ति सङ्घर्षको विषय सतहमै आएको हुनसक्ने वा उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या भएको हुनसक्ने ठानिएको छ ।

उनलाई स्वास्थ्य समस्या नै भएको भए किन आकस्मिक रूपमा बाहिर लगियो भन्ने प्रश्न गरिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनले शनिवार २०५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

अधिवेशनका प्रतिनिधिहरूले सीको विचारधारालाई चिनियाँ भविष्यको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्दै पार्टीको विधान संशोधन गर्न सहमति जनाएका थिए ।

गत आइतवार अधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति सीले हङ्‌कङमा प्रजातन्त्र पक्षधर आन्दोलन दमन गर्ने कदमलाई ‘भद्रगोलबाट सुशासन’ तर्फको यात्रा भन्दै प्रशंसा गरेका थिए ।

उनले स्वशासित टापु ताइवानलाई पनि नियन्त्रणमा लिन चीनसँग बल प्रयोग गर्ने अधिकार रहेको बताएका थिए ।
राष्ट्रपति सी अहिले चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, देशको राष्ट्रपति र सैन्य सङ्गठनहरूका प्रमुख हुन् ।

उनलाई चिनियाँ सर्वोच्च नेताको उपाधि समेत दिइएको छ ।

उनको तेस्रो कार्यकाल आइतवार आधिकारिक रूपमा घोषणा हुँदै छ । आफू महासचिव भएपछि उनले चिनियाँ सरकारमा नयाँ टोली पनि चयन गर्नेछन् ।

यसअघि उनले सन् २०१८ मा दुई पटकसम्म मात्र राष्ट्रपति हुन पाउने नियम परिवर्तन गर्दै अनिश्चित कालसम्म देशको शीर्ष नेतृत्वमा रहन सक्ने बाटो खोलेका थिए ।


क्लिकमान्डु