चर्काे ब्याज विरुद्ध भक्तपुरका उद्यमी, व्यवसायी पुगे सिडिओ कार्यालय (माग सहित)




काठमाडौं । बैंक तथा वित्तिय संस्थाले लिने गरेको चर्काे ब्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र पेश गरेका छन् ।

भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघ संस्थाहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गरेका हुन् ।

भक्तपुर चेम्बर अफ कमर्शका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।

अहिले बैंकको निक्षेप बढ्न नसकेपनि ब्याजदर उच्च हुँदा गम्भिर नकारात्मक असर परेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । व्यवसायीले स्थानीय प्रशासन समक्ष ४ बुँदे ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ब्याजदरको बर्तमान असर र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वान्छित सिमा भित्र राख्नु पर्ने नीति अवलम्बनका लागि उद्योगी व्यवसायीले माग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिशत मात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले गर्ने गरेको खर्चमा नियन्त्रण गरी आधारदर समेत घटाउन सकिने अवस्था रहेको भन्दै यसमा व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई ऋण प्रवाह गर्दा विगतमा भन्दा हाल ब्याजदरमा वृद्धि भएको हुँदा विगतकै प्रतिशतमा ऋण प्रवाह हुनु पर्ने तर्फ पनि व्यवसायीले सुझाव दिएका छन् । मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधिमा थप समय उपलब्ध गराउने व्यवस्थाका लागि केन्द्रीय बैंकबाट पहल हुनु पर्ने तर्फबाट पनि व्यवसायीको माग रहेको छ ।


क्लिकमान्डु