तीन दिनमा बैंकहरुमा बढ्यो २८ अर्ब निक्षेप, कर्जा प्रवाह उत्साहजनक



काठमाडौं । असोज अन्तिममा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी ह्वात्तै बढेको छ ।

बैंकर्स संघकाअनुसार असोज अन्तिम (३ दिन) मा वाणिज्य बैंकमा निक्षेप २८ अर्बले बढेको छ भने कर्जा प्रवाह २७ अर्ब ७ करोड रुपैयाँले बढेको छ ।

संघकाअनुसार असोज २८ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १९ अर्ब निक्षेप संकलन गरेका थिए । ३१ गतेसम्म पुग्दा निक्षेप संकलन २७ अर्ब ९९ करोड रुपैयाँले बढाएर ४५ अर्ब ४७ अर्ब पुर्याएका छन् ।

यो अवधिमा बैंकको निक्षेप मात्रै नबढेर कर्जा प्रवाह पनि उत्साहप्रद नै देखिएको छ । लामो समयपछि बैंकहरुबाट जाने कर्जामा यस्तो उत्साह देखिएको हो । तरलता अभावकै समयमा पनि बैंकहरुले कर्जा प्रवाहमा जोड दिएका छन् ।

संघकाअनुसार असोज २८ गतेसम्म ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा ३ दिनको अवधिमा २७ अर्ब ७ करोड रुपैयाँले बढेर कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।

संघका अनुसार असोज ३१ गतेसम्म कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ८७.२० प्रतिशत रहेको छ ।


क्लिकमान्डु