अर्घाखाँची सिमेन्ट भारत निर्यात शुरू, मुरारका भन्छन्- सपना पूरा भयो



भैरहवा । अर्घाखाँची सिमेन्ट भारत निर्यात शुरू भएको छ । सोमबार कम्पनीले भारतको आनन्दनगर र नौतनवामा १०० टन सिमेन्ट निर्यात गरेको हो ।

भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँची सिमेन्ट इण्डष्ट्रिजको उत्पादन अर्घाखाँची सिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात गर्न शुरु भएको हो । कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातका लागि आईएसआई मार्क पाएको छ ।

नौतनवा रहेको शिभान्सी एसोसियटलाई डिलर नियुक्त गरेर कम्पनीले २ हजार बोरा पीपीसी सिमेन्ट निर्यात शुरू गरेको जनाएको छ ।

एसोसियटसका संचालक रोहित गुप्ताले २० वर्षदेखि भारतमा सिमेन्टको कारोबार गरिरहेकाले नेपाली सिमेन्ट बिक्री गर्दा आफूहरू उत्साहित रहेको बताए ।

भारतमा आईएसआई मार्क नलागेका सिमेन्ट निर्यात गर्न नपाइने व्यवस्था छ । नेपालमा पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न नमिल्ने व्यवस्था छ । कम्पनीले भारतबाट असोज पहिलो साता आईएसआई मार्क पाएपछि सिमेन्ट निर्यात गर्न शुरु गरेको कम्पनीका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

‘कम्पनीले ६ महिनादेखि भारतीय बजारमा सिमेन्ट निर्यात गर्ने विषयमा अध्ययन गरिरहेको थियो,’ अग्रवालले भने, ‘सोमबारबाट भारत निर्यात सुरु भएको छ । भारतको सीमावर्ती बजार देखि ५ सय किलोमीटरको दूरीमा उद्योगहरू भएकाले आगामी दिनमा पनि भारतमा कम्पनीले नियमित रुपमा सिमेन्ट निर्यात गर्छ ।’

गुणस्तरका हिसाबले अर्घाखाँची सिमेन्ट भारतमा उत्पादित सिमेन्टको तुलनामा केही कम नरहेको उनको भनाइ छ ।क्लिङ्करसमेत उत्पादन गर्ने अर्घाखाँचीको दैनिक ४ हजार टन (८० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने क्षमता छ ।

कम्पनीका संचालक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले भारतमा सिमेन्ट निर्यात शुरू गर्दा ठूलो सपना सपना पूरा भएको बताए ।

‘मैले वर्षौंदेखि भारतमा सिमेन्ट निर्यात गर्ने सपना देखेको थिएँ’, मुरारकाले भने,’अहिले हामीले शुरूवात मात्रै गरेका छौं । हाम्रो सपना यहाँको सबै उत्पादन निर्यात गर्नेछ। त्यसका लागि हाम्रो प्रयास हुनेछ।’

सरकारले तेस्रो देशबाट मात्र नभई भारतबाट समेत कोइला आयात गर्न दिए उद्योगको उत्पादन लागत केही कम हुने मुरारकाले बताए ।

सरकारले ८ प्रतिशतसम्म नगद अनुदान दिने कार्यविधि ल्याएपछि कम्पनीले सिमेन्ट निर्यात सुरु गरेको अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए ।

सरकारले असोज ७ गते निर्यात अनुदान सम्बन्धी कार्यविधि संशोधन गर्दै वार्षिक ५० करोड रुपैयाँ भन्दाबढी निर्यात गर्ने संस्थालाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । ३० प्रतिशत मूल्य वृद्धि गर्दै निर्यात हुने ३६ प्रकारका बस्तुमा ४ प्रतिशत नगद अनुदान दिने गरी सरकारले कार्यविधि संशोधन गरेको छ ।

सिमेन्टमा ७० प्रतिशत भन्दाबढी मूल्य वृद्धि हुने हुँदा नेपालबाट कुनै पनि देशमा सिमेन्ट निर्यात गर्ने संस्थाले ६ प्रतिशतसम्म नगद अनुदान पाउन सक्नेछन् ।

चालु आर्थिक वर्षको बजेटमा व्यापार घाटा कम गर्न नेपालबाट निर्यात हुने सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी लगायतका बस्तुमा सरकारले नगद अनुदान दिने घोषणा गरिएको थियो ।


क्लिकमान्डु