राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ४४ करोड ८० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ४० लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ राख्न लागेको हो ।

केन्द्रीय बैंकले उक्त रकम कात्तिक ३ देखि २०८० कात्तिक ४ गते सम्म (३६७) दिनका लागि मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ । राष्ट्र बैंकले निक्षेप लिन चाहने बैंक तथा वित्तीयले २६ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।

यसका लागि राष्ट्र बैंकले केही शर्त समेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्थाको न्यूनतम पुँजीकोष अनुपात तोकिए अनुसार कायम गरेको हुनुपर्ने छ ।

यस्तै निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने छ । खुद तरल सम्पत्ति स्वेदशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी हुनुपर्ने छ । यस्तै कर्जा निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने छ ।


क्लिकमान्डु