डेङ्गीको जानकारी र उपचारका लागि दिनमाभन्दा रातमा बढी फोन



काठमाडौं । काठमाडौं महानगरको कल सेन्टरमा दशैँभरि दिनमाभन्दा रातको समयमा टेलिफोनबाट धेरै सोधपुछ र सहयोगका माग भएको छ ।

असोज १४ देखि २२ गतेसम्म आएका ६९५ कलमध्ये दिनमा १५७ जनाले र रातको समयमा ५३८ जनाले टेलिफोन सम्पर्क गरेका थिए । १४ गते आएका ३० वटा कलमध्ये २९ वटा, १५ गते दिनमा आएका १९ वटा कलमध्ये १७ वटा डेङ्गीसँग सम्बन्धित सोधपुछ र सहयोगका लागि थिए । त्यसदिन राती १३४ जनाले कल गरेका छन् । यी सबै समस्या डेङ्गीसँग सम्बन्धित थिए । यही औसतमा डेङ्गीको सोधखोज देखिन्छ ।

असोज १६ गते सबैभन्दा धेरै व्यक्तिले फोन सम्पर्क गरे । त्यसदिन दिउँसो ४२ जना र राती १६६ जनाको फोन आएको थियो । सबैभन्दा कम फोन २१ गते आएको महानगरले जनाएको छ । यस दिन १० जनाको मात्र फोन आएको महानगरको भनाइ छ ।
‘केही थोरै कल प्रशासनिक विषयसँग सम्बन्धित थिए ।

केही कल कुहिएको मासु बेचेको सम्बन्धी, केही कल मिठाईमा अखाद्यबस्तु मिसाइएको सम्बन्धी, केही कल मृत पशु व्यवस्थापन सम्बन्धी थिए । तर, धेरै कल डेङ्गीसँगै सम्बन्धित थिए’ कल सेन्टर स्वास्थ्यतर्फका फोकल पर्सन ऋषि भुषालका अनुसार लक्षण सोध्ने, औषधिको नाम सोध्ने, सिटामोल पाइएन कहाँ पाइन्छ भनेर सोध्ने, खान हुने र नहुने खानेकुराको नाम सोध्ने, कति दिनमा रोग निको हुन्छ ? सोध्ने जस्तो कल धेरै थिए ।

कल सेन्टरको रेकर्डअनुसार ‘ज्वरो आएको ५ दिन भइसक्यो, अझै घट्दैन । जीउ हल्लाउनै सकिएन । ज्वरो कम भयो तर जीउ चिलाउने धेरै छ । बच्चाहरुलाई सास फेर्नै गाह्रो भयो । झाडा पखाला छ के गर्ने ? गाह्रो हुँदा कुन अस्पताल जाने?’ जस्ता जिज्ञासा धेरै देखिएकाे महानगरकाे भनाइ छ ।

महानगरको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले असोज १० गतेदेखि २२ गतेसम्म ७९ जना डेङ्गीका विरामीलाई अस्पताल पु¥यायो । एम्बुलेन्स सेवाका कार्यकारी प्रमुख अमीत जोशीकाअनुसार यसअवधिमा अस्पताल लगिएका २५३ विरामीमध्ये ७९ जना डेङ्गी संक्रमणका हुन् ।

काठमाडौँ महानगरले दशैं विदाका बेला पर्न सक्ने समस्या समाधान गर्न ११८० टोल फ्रि नम्बरलाई २४ सैं घण्टा सञ्चालन गरेको थियो । दिनमा कल सेन्टरबाट र रातको समयमा कल फरवार्ड गरेर प्रश्नकर्ताको प्रश्नको जवाफ दिइएको थियो ।

महानगरले संक्रमण रोकथाम र नियन्त्रणका कामलाई निरन्तरता दिँदै पर्वका अवधिमा महिला स्वास्थ्य स्वयमसेविकाबाट सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको थियो । महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका हुनुहुन्छ । माग गर्नेहरुलाई उहाँहरुले घरमै गएर सिटामोल र जीवनजल वितरण गरेको थियो ।


क्लिकमान्डु