वर्षाका कारण ठाउँठाउँमा पहिरो, यी सडक अवरुद्ध



फाइल तस्बिर

काठमाडौं । केही दिनयता परिरहेको अविरल वर्षा र वर्षाका कारण भएकाे पहिराेका कारण देशभरका सडकहरु अवरुद्ध भएका छन् । मुग्लिन–नारायणगढ सडक, मध्यपहाडी लोकमार्गअन्र्तगतका ग्रामीण सडक, बेँसीसहर–चामे सडक, सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ सडक, बेनी–जोमसोम सडकलगायतका सडक खण्डहरु अवरुद्ध भएका छन् ।

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ ।

पहिराकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरुद्ध भएको हो । कतिपय स्थानका सडक भासिएको छ । राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरुद्ध छ ।

त्यस्तै, सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ सडक खण्ड पनि अवरुद्ध भएको छ । बिहीबार बिहान गल्याङ–८ झोप्लेमा पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पुर्‍याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उनी बताउँछन् ।

त्यस्तै, गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको अविरल वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

केही दिनयता परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो आउँदा सडक पनि अवरुद्ध हुन पुगेको छ । जसकारण दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।


क्लिकमान्डु