अनुगमन टोलीलाई खसी व्यापारीको जवाफ: हचुवामा ल्यायौँ, हचुवामै बेच्छौँ



काठमाडौं । दशैंका लागि काठमाडौंको बालाजु बाइपासमा खसी बेचिरहेका व्यापारी गणेश पोखरेलले भने, ‘हचुवामा किनेर ल्यायौं । हचुवामा बेच्छौँ ।’ उनले साथीहरुसहित धादिङ्लगायतका ठाउँबाट ५ सय खसीबोका बेच्न ल्याएका थिए ।

ती धेरै बिक्री भइसकेका छन् । उनले २ वटा खसीको घाँटीमा बाँधिएका दाम्लोहरु हातमा समाएर ग्राहकलाई खसीको मूल्य सुनाउँदै थिए । लैजाने भए यसको दाम ३५ हजार रुपैयाँ । ग्राहकको जवाफ आयो, ३० हजार दिउँला । पोख्रेलले नजिक रोकेर राखेको गाडी देखाउँदै जवाफ फर्काए, ३२ हजार उनले दिइसक्नु भएको हो । यसको अन्तिम दाम नै ३५ हजार हो ।
खसी किन्ने ग्राहक टाढा जानुभन्दा यहीँ दाम मिलाएर किन्ने सुरमा थिए ।

यति गफ गर्दागर्दै अर्का एक जना ग्राहक आए, उनले दाम कति हो खसीको भनेर सोधेको प्रश्नमा पाख्रेलले ३६ हजार रुपैयाँ भन्ने जवाफ फर्काए । वरिपरि हेर्ने मानिसहरु मुसुमुसु हाँसिरहेका थिए । पाखरेल भन्दैथिए, ‘इच्छा भए लाने हो, जवर्जस्ती कसले गर्छ र ?’

यी संवाद र बजारको अवस्था आजको हो । महानगरको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो । त्यहाँ आज करिव ३० वटा खसीबोका बेच्नका लागि राखिएका थिए । यो अवस्था देखेपछि अनुगमन टोलीले हचुवामा बेच्दा उपभोक्ता मारमा पर्ने भएकोले यसो गर्न नहुने बताएको थियो ।

जवाफमा व्यापारीहरुले, एउटा दुईटा खसी बोका बेचेर दशैँ मनाउने किसानसँग तौल लिने व्यवस्था नहुने उत्तर दिए । यो ठाउँमा नुवाकोट, सिन्धुली, गोरखा, बारालगायत ठाउँबाट खसीबोका ल्याउने गरिएको छ । पशु स्वास्थ्य विभागकाअनुसार हिजो यस नाकाबाट २०३ वटा वोका, ४२३ वटा खसी, ५१ वटा राँगा, ५२२ वटा कुखुरा र ४ वटा बाख्री भित्रिएका थिए ।

महानगरको खाद्य नियमन तथा पशुपंक्षी महाशाखाका पशु विकास अधिकृत डम्बर बमकाअनुसार, बजारमा रोगी खसी बाख्रा भेटिएका छैनन् । निरोगी खसीबोकाका सिंङ्मा हरियो रङ्ग लगाएर खान योग्य भन्ने संकेत गररिएको छ । यिनीहरुको वाह्य अवस्था परीक्षणबाट चिन्ह लगाइएको हो । कलंकी खसी बजार विस्थापनका लागि महानगरले पत्राचार गरेपछि यस बर्ष त्यस क्षेत्रबाट विक्री गरिएका खसीबोकाको महानगरले परीक्षण गरेन ।


क्लिकमान्डु