अमेरिकी डलर अहिलेसम्मै महँगो, एक डलर खरिद गर्न १२९.६८ रुपैयाँ खर्च हुने



काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । बिहिबार १ अमेरिकी डलर खरिद गर्न ८०.५८ भारतीय रुपैयाँ तिर्नु परेको थियो

अमेरिकी डलरसँग नेपाली मुद्राको विनिमय दर भारतिय मुद्रा र डलरको विनिमय दरको आधारमा तय गरिँदै आएको छ। ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि १ अमेरिकी डलरको खरिद मूल्य १२९.०८ रुपैयाँ र बिक्री मूल्य १२९.६८ रुपैयाँ तोकेको छ ।

गत फागुन २२ गते नेपालका वाणिज्य बैंकहरुले एक अमेरिकी डलर १२३ रुपैयाँ ४५ पैसा सम्ममा बिक्री गरेका थिए । त्यसपछि असार १४ गते एक अमेरिकी डलरको बिक्री मुल्य १२६ रुपैयाँ ०५ पैसा पुगेकोमा असार ३० गते एक अमेरिकी डलर बराबर १२८.१० रुपैयाँ पुगेको छ।

भारत सरकारले भारतीय मुद्रामा अन्तर्राष्ट्रिय व्यापार गर्ने निर्णय गरे पनि डलरको मूल्यवृद्धि हुने क्रम रोकिएको छैन । चीन, रसिया र भारतले अन्तर्राष्ट्रिय व्यापारको १५ प्रतिशत हिस्सा ओगट्ने र तीन देशबीचको व्यापारमा डलर प्रयोग नहुँदा विश्वबजारमा डलर सस्तो हुने अपेक्षा गरिएको थियो ।

तर, लगातार डलरको माग बढ्ने र मूल्य बढ्ने क्रम जारी छ । संसारका कैयन देशमा आर्थिक संकट देखिन थालेपछि विभिन्न व्यक्तिले डलर सञ्चय गर्न थालेपछि विश्व बजारमा डलरको माग बढेको हो ।

यसअघि नेपालमा २०७६ चैत ४ गते डलर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसदिन १ अमेरिकी डलर प्राप्त गर्न १२३ रुपैयाँ २८ पैसा खर्च गर्नु परेको थियो ।

नेपालमा विदेशी मुद्रासँगको विनिमय दर भारतीय मुद्रासँग ‘पेग’ गरेर निर्धारण गरिएकाले भारतको मुद्राको अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपाली मुद्रासँगको सटही रेट तय हुन्छ ।

भारतको अर्थतन्त्र बलियो भएको अवस्थामा कम नेपाली रुपैयाँ खर्च गरेर डलर प्राप्त गर्न सकिन्छ भने भारतीय मुद्रा कमजोर बन्दा डलर प्राप्त गर्न बढी रुपैयाँ खर्च गर्नुपर्छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग डलरमै भुक्तानी गरेर सामान किन्ने हुँदा डलर महंगो हुँदा पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने छ ।

यस्तै नेपालमा आयात हुने सामानसँगै उद्योगको कच्चा पदार्थ पनि विभिन्न वस्तुको मूल्य बढ्ने सम्भावना पनि छ । पछिल्लो समय विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको नेपालमा डलर महँगो हुँदा व्यापार घाटा झनै बढ्नेछ ।


क्लिकमान्डु