राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले राष्ट्रपतिको अपमान गर्नुलाई आफ्नो महानता ठानेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले गठबन्धन दिमागले नभइर मसलले चलेको आरोप लगाँउँदै अनधिकृत स्थानमा ‘अनाडी’ मानिसहरुले राष्ट्रपतिको मजाक उडाएको भन्दै आलोचना गरे ।

‘उहाँहरु दिमागले सोच्नुहुन्न । मसल पूरै । राष्ट्रपति ज्यूले पुनः विचारका लागि पठाएको विधेयक, नगर्ने । उहाँहरुको त्यस्तो छ आजकाल । संसदमा आएर होइन, अनाडी मानिसहरु बसेर अनधिकृत ठाउँमा राष्ट्रपतिको मजाक उडाएका छन् । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नुलाई ठानेको छ’ ओलीले भने ।

संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, स्वीकृति लिनुपर्छ भनेको भए पनि सरकारले त्यसको पालना नगरेको उनको आरोप छ ।

‘यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपटक पनि पालना गरेको छैन । त्यसैले मैले भनेको हुँ, गठबन्धनसँग खोपडीमा दिमाग छैन कि क्या हो मसलको भाषा मात्रै बोल्छ । मसलको भाषा बोल्दा बोल्दै एमालेसँग बोल्न आइपुग्यो भने त्यतिबेला मसल पनि ठिक लाग्छ । मसलको भाषा बोल्न छोडौं । लोकतन्त्रमा मसलको भाषा बोलिँदैन’ ओलीले भनेका छन् ।


क्लिकमान्डु