बैंक तथा वित्तीय संस्थाको प्रोभिजनमा १ खर्ब १० अर्ब रुपैयाँ



काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमा नै कर्जाको सावा र ब्याज भुक्तानी नगर्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा नोक्सानी (प्रोभिजन) बापत राख्नुपर्ने रकम १ खर्ब १० अर्ब १९ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋणले लगेको ऋण बैंकले तोकिएको समयमा उठाउन नसक्दा यो रकम प्रोभिजनिङ गरेको हो ।

नेपाल राष्ट्र बैंकअनुसार यस्तो रकम असारको तुलनामा साउनमा भने केही घटेको छ । एक महिनाको अवधिमा बैंकहरुले प्रोभिजन गरेको रकम ०.०९ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा बैंकहरुले प्रोभिजनिङ गरेको रकम १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ प्रोभिजन गरेका थिए ।

साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब १८ अर्ब ९९ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसका लागि १ अर्ब १० अर्ब १९ करोड ५० लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन् ।

यस्तै असार मसान्तमा ४७ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह भएकामा १ खर्ब १० अर्ब ३० करोड रुपैयाँ प्रोभिजन गरेका थिए ।

बैंक तथा वित्तीय संस्थाले असार मसान्तको तुलनामा साउन मसान्तमा प्रोभिजन बापतको रकम घटाएका छन् ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा वाणिज्य बैंकले ९५ अर्ब ४ करोड १० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । असारमा यस्तो रकम ९५ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको थियो । असारको तुलनामा साउनमा प्रोभिजन रकम घटेको छ ।

साउनमा वाणिज्य बैंकले ४१ खर्ब ८५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ । असारको तुलनामा साउनका कर्जा सामान्य बढेको छ ।

यस्तै विकास बैंकले साउन महिनामा ९ अर्ब २१ करोड १० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । यस्तो रकम असारमा ९ अर्ब ४० करोड ५० लाख रुपैयाँ रहेको थियो । वाणिज्य बैंकले साउनमा ४ खर्ब ४१ अर्ब ९४ करोड २० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् ।

असारको तुलनामा साउनमा विकास बैंकले गर्ने कर्जा लगानी घटेको छ । असारमा विकास बैंकले ४ खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कजौ प्रवाह गरेका थिए ।

केन्द्रीय बैंकका अनुसार वित्त कम्पनीले साउनमा ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँ प्रोमिजन गरेका छन् । यस्तो रकम असारको तुलनामा साउनमा बढेको छ । असारमा यस्तो रकम ५ अर्ब ४८ करोड ६० लाख रुपैयाँ रहेको थियो ।

साउनमा वित्त कम्पनीले ९१ अर्ब २२ करोड ८० लाख रुपैयाँ कर्जा गएको छ । असारभन्दा साउनमा वित्त कम्पनीको कर्जा बढेको छ । असारमा वित्त कम्पनीले ८६ अर्ब ३० करोड ३० लाख रुपैयाँ कर्जा दिएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जामध्ये तीन महिनाभित्र कर्जा असुल नभएमा त्यस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखी प्रवाहित कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै ६ महिनासम्म सावाँ-ब्याज भुक्तानी नभएमा ५० प्रतिशत, नौ महिनासम्म भुक्तानी नभएमा ५० प्रतिशत र १ वर्षसम्म साँवा-ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई शतप्रतिशत प्रोभिजन गनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

नेपाल बैंकर्स संघका बरिष्ठ उपाध्यक्ष सुनिल केसीले असार मसान्तसम्म नउठेको कर्जा साउनमा उठेका कारण प्रोभिजन बापतको रकम घटेको बताए ।

बैंक तथा वित्तीय संस्थाले असारसम्म उठाउनु पर्ने कर्जा उक्त अवधिमा नउठदा त्यो रकम साउनमा उठेका कारण पनि यस्तो रकम घट्न जाने गरेको केसीको भनाइ छ । यस्तै साउनमा कर्जा प्रवाह धेरै नहुँदा पनि यस्तो रकम घट्न जाने उनको भनाइ छ ।


क्लिकमान्डु