राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल गर्दैछौँ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको बताएका छन् ।

मंगलबार खुमलटारस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले विधेयक रोक्ने अधिकार राष्ट्रपतिसँग नभएको बताए ।

‘संविधानको व्यवस्थाअनुसार रोक्ने राष्ट्रपतिलाई रोक्ने अधिकार र छुट छैन । जसरी पनि प्रमाणीकरण गर्नै पर्ने थियो’ प्रचण्डले भने, ‘उहाँले जर्बजस्ती संविधान मिचेर प्रमाणित नगर्ने काम गर्नुभयो । त्यहीँ विषयमा गठबन्धनमा छलफल गर्यौं ।’

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको प्रचण्डले बताए । उनले यस बिषयमा गठबन्धनमा छलफल गरेको बताए ।

‘आजैदेखि त्यसका विरुद्ध सडकमा पनि विद्यार्थीहरु, युवाहरु आन्दोलित हुँदैछन्। अहिलेदेखि नै सुरु भइसकेको छ। र हामीले सँगसँगै यो कुरालाई लिएर संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानको व्यवस्थाले नै अदालतलाई दिएको हुनाले अदालततिर जाने भनेर हामी अधिवक्ताहरुसँग सल्लाह गर्दैछौँ ।’


क्लिकमान्डु