सेनाको हेलिकप्टर धनगढी पुग्यो, डा केसी काठमाडौं नआउने अडानमा



काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी पुगेको छ । तर, डा केसीले काठमाडौं आउन अस्वीकार गरेका छन् ।

डा केसी ९ दिनदेखि विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका छन् । केसीले आफूमाथि जबरजस्ती गरे यसलाई अपहरण मान्ने बताएको उनका सहयोगीको भनाइ छ ।

स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अनशन बसेको भोलिपल्ट दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

केसीको मागका विषयमा आज उनका सहयोगी र सरकारी वार्ता टोलीबीच छलफल भइरहेको छ ।


क्लिकमान्डु