उपत्यकाका तीन ठुला सहकारीबीच मर्जर सम्झौता, साढे ८ अर्बको संस्था बन्दै



काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीन ठूला सहकारी संस्थाहरुले मर्जरका लागि सम्झौता गरेका छन् ।

काठमाडौंको खुसिबु स्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभबीच एकीकरण सम्झौता भएको हो । यो एकीकरण पुँजीको हिसाबले काठमाडौं जिल्लामा भएको सबैभन्दा ठूलो सहकारी एकीककरण हो ।

एकीकृत संस्थाको नाम लक्ष्मीकल्याण गुँरास सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ हुने प्रारम्भिक सहमति भएको छ । एकीकरणपछि संस्थाको अध्यक्ष जिबी राई र प्रमुख कार्यकारी अधिकृत विश्वराज अधिकारी रहने सहमति भएको छ ।

एकीकृत संस्थाको सञ्चालक समिति सात सदस्यीय र लेखा सुपरिवेक्षण समिति तीन सदस्यीय हुनेछ । तीन वटै सहकारीले साधारणसभा छिट्टै सक्ने र त्यसपछि एकीकृत सभा गरी एकीकरणलाई अन्तिम रुप दिने बताइएको छ ।

एकीकरणपछि संस्थाको सेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ । सेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ भने संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरुमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी गराइएको छ ।

यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहने प्रस्तावित संस्थाका अध्यक्ष राईले जानकारी दिए ।

ठुला सहकारीहरु बीचको एकीकरणले राम्रो सन्देश प्रवाह हुने बताउँदै अध्यक्ष राईले एकीकरणले छिट्टै अन्तिम रुपमा प्राप्त गर्ने बताए । संस्था ठुलो हुनु मात्र उपलब्धि नभई सही ढंगले सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै अध्यक्ष राईले सदस्य, कर्मचारी र सम्पूर्ण सञ्चालकहरुको साथले संस्थाले थप गति लिने दाबी गरे ।


क्लिकमान्डु