पहिलो राष्ट्रिय पर्यटन कन्क्लेभ सुरु, पर्यटन पुनर्उत्थानका विषयमा छलफल हुने



काठमाडौंं । नेपाल एकेडेमी अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्ट (नाथम) ले राष्ट्रिय पर्यटन कन्क्लेभ आयोजना गरेको छ ।
मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नाथमको कार्यालयमै कन्क्लेभको उद्धाटन गरेका छन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन पुनर्उत्थानको विषयमा बहस हुनु पर्ने समयमा नाथमले पर्यटन कन्क्लेभ आयोजना गर्नु सुखद् भएको बताए ।

‘पर्यटन मन्त्रालयले आगामी दशकलाई पर्यटन दशकको रुपमा मनाउने तयारी गरेको छ,’ श्रेष्ठले भने, ‘यस कन्क्लेभबाट आउने सुझावलाई समेत हामी मन्त्रालयले बनाउने नीतिमा समेट्ने छौं । त्यसैले आगामी दिनमा सरकारले चाल्नु पर्ने कदमका विषयमा ठोस छलफल गर्नुहोला ।’

आगामी बिहीबारसम्म चल्ने कन्क्लेभमा हरेक दिन ५ वटा विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ । मंगलबार उद्धाटन सत्रपछि पर्यटन व्यवसायी कर्ण शाक्यले कि नोट स्पिकरका रुपमा मन्तव्य राखेका थिए । शाक्यले नेपालका पर्यटकीय गन्तव्यसँग संसारका कुनै पनि देशले प्रतिस्पर्धा गर्न नसक्ने बताए ।

‘हामीले धेरै पर्यटक ल्याउने भन्दा पनि गुणस्तरीय पर्यटक ल्याउने गरी काम गर्नु पर्छ,’ शाक्यले भने, ‘आजसम्म विदेशीले नेपाललाई चिनाएका छन् , हामीले नेपाल चिनाउन शुरु गर्याै भने नेपालको पर्यटनसँग कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैन् ।’

कार्यक्रममा बेलायतको बकिंघमशायर न्यू यूनिवर्सिटीकी प्राध्यापक युजेनिया विकेन्सले अनलाइनबाट सम्बोधन गरेकी थिइन् ।
विकेन्सले नेपालले आफूसँग भएका पर्यटकीय सम्भावनाको पूर्ण उपभोग गर्न नसकेको बताइन् ।

कार्यक्रममा प्राध्यपक डाक्टर रमेश राज कुंवरले नेपालले संस्कृति र प्रकृतिमा आधारित पर्यटनमा जोड दिनु पर्ने बताए ।

मंगलबार कठिन अवस्थाको पर्यटन र प्रादेशिक पर्यटनको सम्भावनाका विषयमा समेत समूहगत छलफल भएको थियो ।
बुधबार र बिहीबार पनि विभिन्न विज्ञको मन्तव्यको साथैं पर्यटन पुनर्उत्पानका विषयमा समूहगत छलफल हुनेछ । भोलिको कार्यक्रममा भारतीय विश्वविद्यालयका प्राध्यापकहरुको समेत सहभागिता हुने छ ।


क्लिकमान्डु