असन क्षेत्रमा अवैधरुपमा सञ्चालित पसल हटाउन पुग्यो महानगर



काठमाडौं– असन क्षेत्रमा रहेका मन्दिर आसपासमा रहेको अवैध रुपमा सञ्चालित पसलहरु हटाउन काठमाडौं महानगरको टोली पुगेको छ ।

महानगरीय प्रहरीको नेतृत्वमा महानगरको टोली असन क्षेत्रमा पुगेको हो । मन्दिर आसपासका पेटीहरुमा राखिएका सामान हटाउनका लागि निर्देशन दिनेसँगै अवैध रुपमा बनाइएका संरचनाहरु हटाउन महानगरको टोली असन क्षेत्रमा पुगेको हो ।

महानगरले आइतबार २४ घण्टाभित्र यी क्षेत्रमा रहेका पसल तथा अवैध संरचनाहरु हटाउन निर्देशन दिएको थियो ।

महानगरपालिकाका वडा नम्बर २५ का वडा अध्यक्ष राजेश शाक्यकाअनुसार आइतबार यी क्षेत्रमा रहेका अवैध संरचना हटाउन सूचना दिइएको थियो ।

निर्देशन दिइएको २४ घण्टाभित्रमा पसल नहटाएमा महानगरले नै आफैं यी संरचना तथा पसलहरुलाई हटाउने भनिएअनुसार आज यी क्षेत्रका पसल तथा अवैध संरचना हटाउन महानगरको टोली यो पुगेको हो ।

महानगरले असन चोकसँगै असनबाट ट्यौडा, बांगेमुढा जाने बाटो, इन्द्रचोक, भेडासिंहलगायतका क्षेत्रमा रहेका पसलहरु हटाउन निर्देशन दिएको थियो ।

मन्दिर तथा सम्पदा क्षेत्रमा रहेका पसलहरुका कारण महानगरको सौन्दर्य विग्रेको भन्दै यी क्षेत्रमा रहेका संरचनाहरु हटाउन लागिएको हो ।


क्लिकमान्डु