कांग्रेसले १ सय सिट चाहिन्छ भनेको थियो, अब ८० आसपास कुरा मिल्छ: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने दाबी गरेका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार धनगढी पुगेका प्रचण्डले पत्रकारहरुसँगको कुराकानीमा सिट संख्या, क्षेत्र र प्रदेशबारे एकैपटक टुंग्याउने गरि नेताहरु लागिरहेको भन्दै भोलिसम्ममा टुंगो लाग्ने दाबी गरे ।

‘नेताहरु लागिरहनु भएको छ । आज बेलुकासम्मको समय दिइएको छ’ उनले भने, ‘भोली हामी शीर्ष नेता बसेर अन्तिम टुंगो लगाउँछौं ।’

दलहरुले धेरैमा दाबी गरिरहे पनि प्रतिनिधि सभाको १६५ र प्रदेश सभाको ३३० सिट भित्रै मिलाउनु पर्ने भएकाले सहमति गर्नुको विकल्प नभएको बताए ।

कांग्रेसले पहिला १ सय सिटमा दाबी गरिरहेको भए पनि अहिले ८० को वरिपरी आउने र बाँकीमा अन्य दलले भागवण्डा मिलाउने बताए ।

‘सय सिट दाबी गरेको कांग्रेस ८० वरिपरि मान्लाजस्तो छ र हामीले पनि ६० सिट दाबी गरेका हौं । त्यसैको वरिपरि सहमति गर्नेतर्फ उन्मुख छ। एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ मागिरहेका छन् । यी सबै विषयमा बुधबार शीर्ष नेताहरू बसेर टुंग्याउँछौं,’ प्रचण्डले भने ।

आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नम्बर ३ बाटै उठ्ने उनले बताए ।


क्लिकमान्डु