काठमाडौं महानगरको एक्सन: दुई दिनमा १ सय बढी संरचनामा चल्यो डोजर



काठमाडौं । काठमाडौँ महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ ।

महानगरले आइतबार र सोमबार विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । भदौ ६ गतेदेखि महानगरले अवैध संरचना भत्काउन सुरु गरेको थियो ।

सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

आइतबार कोटेश्वर प्रहरी चौकी नजिकैको ५० बढी अवैध संरचना भत्काइएको थियो । कामपाले यसअघि बानेश्वरमा रहेको बानेश्वर कम्प्लेक्समा निर्माण भएका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आर बि कम्प्लेक्सका करिब १४ साना पसल र बानेश्वरमा रहेको अल्लाबिटामा निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएका छ ।

केही दिनअघि महानगरले सानो भर्‍याङमा रहेको अवैध सात टहरा पनि भत्काइएको छ । त्यसैगरी वल्ड ट्रेड सेन्टरमा अनधिकृत रुपमा राखिएको विद्युतीय विज्ञापन पनि हटाइएको छ । नक्सा अनुरुप निर्माण नभएको, नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेर निर्मण भएका सबै संरचना अवैध ठहर गर्दै कामपाले आगामी दिनमा त्यस्ता सम्पूर्ण संरचना निरन्तर भत्काउने जनाएको छ ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाले जनाएको छ । अवैध रुपमा निर्माण भएका र निर्माण भए अनुरुप प्रयोजन नभएका संरचना महानगरले भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुशरण गर्न थालेका छन् ।


क्लिकमान्डु