निजामति सेवा ऐन रुपान्तरित बनाएर ल्याउन सरकार गम्भीर : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामति सेवा ऐन रुपान्तरित बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।
आइबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी कार्यलयहरुमा अझै पनि नागरिकमैत्री काम हुन नसकेको भन्दै यसलाई तत्काल सुधार गरी जनतालाई बिना कुनै झन्झट चुस्त सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए ।

निजामति सेवामा भ्रष्टाचार, अनियमितता हुन नदिन सम्बन्धित निकायले थप सक्रियताका साथ काम गर्न आवश्यक रहको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले स्वस्थ, नतिजामुखी प्रशासन हुनुपर्ने भन्दै निजामति कर्मचारीहरुले विभिन्न समयमा भएका आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि स्मरण गरे ।

कर्मचारी कुनै राजनीतिक दल विशेष हुनु नहुने भन्दै कार्यालयको कार्य सम्पादनमा कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर प्रचलित कानूनको पूर्ण पालना गर्दै आफ्नो भूमिका निभाउन कर्मचारीहरुलाई प्रधानमन्त्रीले निर्देशन दिए ।

देउवाले मुलुकमा राजनीतिक संघीयता सफलतापूर्वक कार्यान्वयनमा आइसकेको भए पनि यससँग तादम्य कायम हुने गरेर प्रशासनिक संघीयतालाई व्यवस्थापन गर्ने थप कार्यहरु गर्नुपर्ने स्थिति रहेको बताए ।

प्रधानमन्त्री देउवाले नयाँ संघीय निजामति सेवा ऐनको सन्दर्भमा निजामति कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा आफू जानकार रहेको र संघीय निजामति सेवा ऐन जारी गर्ने क्रममा प्राप्त सुझावलाई समावेश गरी समय सापेक्ष गर्ने प्रयास हुने प्रतिवद्धता जनाए ।


क्लिकमान्डु