सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीलाई अध्यक्ष सिलवालको निर्देशन



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।

बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा सम्पन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरूको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका वर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गरे । गरीव, विपन्न र पिछडिएका वर्गले आफ्नो क्षमता र चाहनाअनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए ।

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरू हुने जानकारीसमेत दिए ।

बीमा कम्पनीहरूको विद्यमान पुँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पुँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरूलाई प्रदेश तथा शाखा कार्यालयहरूमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई सचेत गराइएको उनले बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरू वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा ससानो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरूमा कर्मचारीको अभाव भएको, विपन्न, गरीव र पिछडिएका बर्गको क्षमता र आवश्यकता अनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरूमा उपकरणको अभाव भएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशक दिनेशकुमार लाल, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमितहरू लगायतको सहभागिता रहेको थियो ।


क्लिकमान्डु