डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकबाट पौने १८ अर्ब रुपैयाँ ऋण लिने निर्णय



काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकबाट १४ करोड डलर (करिब १७ अर्ब ८६ करोड रुपैयाँ) ऋण लिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यो रकम ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा बिस्तारमा खर्च हुने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्यालले जानकारी दिए ।

‘डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धी कार्यक्रम विभिन्न कार्यक्रममा विश्व बैंकले दिएको पैसा खर्च हुने व्यवस्था चालु आर्थिक वर्षको बजेटमा गरिएको छ,’ अर्यालले भने, ‘मन्त्रिपरिषद्ले सहमति दिएकाले केही दिनभित्र १४ करोड डलर ऋण लिने सम्झौता हुनेछ ।’

परियोजना सहयोग कार्यक्रमका लागि विश्व बैंकले ऋण दिएकाले सरकारी प्रणालीबाटै सबै रकम खर्च हुनेछ ।

विश्व बैंकले दिएको ऋणको वार्षिक ब्याज ०.७५ प्रतिशत तिर्नुपर्नेछ । ३८ वर्षपछि साँवा चुक्ता गर्नुपर्ने ऋणमा शुरुको ६ वर्ष भने ब्याज तिर्नु पर्ने छैन ।


क्लिकमान्डु