निलम्बित प्रधानन्यायाधीशको बयान: कसले के भने ?



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । बिहीवार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरुको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो ।

आजको बैठकमा जबराले २ वटा प्रश्नको जवाफ दिएका छन् । न्याय सम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरुको भनाइ छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबराले अहिले आफ्नो हिसावबाट जवाफ दिइरहेको र त्यसको सत्यताका बारेमा समितिले पुनः अध्ययन गरेर निष्कर्ष निकाल्ने बताए ।

नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले प्रश्नहरु लामो भएकोले दुईवटा प्रश्नको बयान सकिएको बताए ।

प्रधानन्यायाधीशले व्यक्त गरेको शब्दहरुमा आपत्ति जनाउन नहुने उनको भनाइ थियो । न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन कायम गर्न नसकेको, न्याय सम्पादनका प्रक्रियामा भ्रष्टाचार केन्द्रित भएर गरेको अभियोगको बारेमा जबरासँग बयान लिएको विश्वकर्माले बताए ।

बयानका क्रममा जबराले समिति र संसदलाई नै प्रश्न गर्ने व्याख्यात्मक शैलीमा गएको उनको भनाइ छ ।

बार एसोसिएसन र न्यायाधीशहरुमाथि नै जबरालरे आरोप लगाएका थिए भने उनले संसद्‍ र सांसदहरुमाथि आक्रोश पोखेको उनले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोगलाई निष्पक्षताका साथ कसरी छिटो छरितो बनाउने भन्ने कुरामा समितिमा छलफल हुने बताइन् ।

समितिले बनाएको कार्यतालिका परिवर्तन गर्न आवश्यक रहेकोले १९ गते अगावै पनि समितिको बैठक बोलाएर छलफल गर्ने उनको भनाइ छ ।

सांसद शर्माले आजको बयानमा जबराले नियमावली र संविधानको कुरा उठाएको जानकारी दिइन् ।

बैठकमा प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफैँ उजुरी गरेर आफैँले छानबिन गर्न पाउनु हुन्ने भने जबराको धारणा रहेको उनको भनाइ थियो ।

समितिले जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरेको छ । गत फागुन १ गते जबराबिरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो ।

जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले भदौ १९ गते ११ पुन: बयान हुने समितिका सभापति बिष्टले जानकारी दिए ।


क्लिकमान्डु