तरलता अभाव बढ्दोः डेढ महिनामा बैंकले लिए १२ खर्ब १३ अर्ब एसएलएफ सुविधा



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले भदौ १४ गतेसम्म १२ खर्ब १३ अर्ब ६४ करोड ५७ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि भदौ १४ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ६६७ कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । मंगलबार नै बैंकहरुले ३२ अर्ब ९१ करोड एसएलएफ सुविधा लिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी साउन २ गते ६७ अर्ब ७४ करोड, भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् ।

नगद व्यवस्थापन गर्न धौं धौं परेपछि बैंकहरुले राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि कर्जा लिने गरेका छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु