निजी चार्जिङ स्टेसनको शुल्क नियन्त्रण हुन्छः कुलमान



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।

मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए ।

उनले देशका विभिन्न क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन बनाउनको लागि प्राधिकरणले निजी क्षेत्रलाई पनि सहमति दिने बताउनु भयो । घिसिङले निजी क्षेत्रले बनाएका स्टेसनमा प्राधिकरणले भन्दा २० प्रतिशत थप गरेर शुल्क लिन पाउने पनि बताए । उनले रत्नपार्कको चार्जिङ स्टेशन १२० किलोवाट डिसि क्षमता रहेको बताए ।

उनले विद्युतीय सवारी एक घण्टाभित्र चार्ज पूर्ण गर्न सकिने बताए । उनले चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औसत प्रति किलोमिटरमा ७० पैसा लाग्ने बताए । घिसिङले माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्ने बताए । उनले चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक राती पिक समयमा ८.७० पैसा, रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा निर्धारण गरेको बताए ।

उनले विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्ने भन्दै अहिले महँगो रहेको भाडालाई पनि नियन्त्रण गर्ने बताए । उनले विगतमा विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न पनि नसक्ने अवस्थामा रहेको तर अहिले चार्जिङ स्टेसन बनाउने अवस्थामा आउनु विद्युतीय क्षेत्रमा ठूलो परिर्वतन भएको बताए ।

प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसन धमाधम जडानको काम भइरहेको छ । चार्जिङ स्टेसन जडानका लागि सिभिल पूर्वाधार निर्माणको काम लगभग सकाएर जडान भइरहेको बताएको छ । केही समयभित्रै ५१ वटै स्थानमा चार्जिङ स्टेसन जोडिसक्ने प्राधिरकणको लक्ष्य छ ।

प्राधिकरणले देशभरका राजमार्ग र मुख्य शहरका बसपार्क, सार्वजनिक जग्गा लगायतका स्थानमा चार्जिङ स्टेसन जडान गर्न लागेको हो । विद्युत् खपत प्रवद्र्धन गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले देशका प्रमुख शहर तथा राजमार्गहरुमा द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने अभियानमा प्राधिकरण रहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सरकारी तहबाट विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्नेछ ।

कुलमानको भनाइ जस्ताको त्यस्तै

रत्नपार्कमा चार्जिङ स्टेसन जस्तै देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउँछौं । यो स्टेसनमा बाहिरबाट आउनेहरुको लागि पनि खुला गर्छौं । देशभर यस्तै चार्जिङ स्टेसन बनाउनेछौं । निजी क्षेत्रलाई पनि विद्युतीय चार्जिङ स्टेसन राख्न इच्छा हुनेहरुलाई प्राधिकरणले सहमति दिन्छ । प्राधिकरणको भन्दा २० प्रतिशत थप गरेर निजी क्षेत्रले लिन सक्नुहुन्छ । यो स्टेसनको १२० किलोवाट डिसि क्षमता हो । विद्युतीय सवारीको एक घण्टा भित्र चार्ज पूर्ण गर्न सकिन्छ । यो स्टेसनमा २ वटा डिसि र एक वटा एसी चार्जर रहेको छ । चार्जिङ स्टेसनमा विद्युतीय सवारी चार्ज गर्दा औषत प्रतिकिलोमिटरमा ७० पैसा लाग्छ । जबकी डिजेल र पट्रोलमा २० रुपैयाँ लाग्छ । माइक्रोबसमा ९० पैसा र ठूला बसहरुमा १ रुपैयाँ २० पैसा लाग्छ । चार्जिङ स्टेसनमा समय अनुसार फरक –फरक शुल्क लाग्छ । राति पिक समयमा ८.७० पैसा, रातीको समयमा ५ रुपैयाँ ५ पैसा र बिहानदेखि दिउँसो चार्ज गर्दा ६ रुपैयाँ ९० पैसा रहेको छ । यो धेरै सस्तो रहेको छ । निजी क्षेत्रले २० प्रतिशतसम्म सर्भिस चार्ज जोडेर बनाउन सक्नु हुन्छ । अहिले निजी क्षेत्रले धेरै ठाउँमा राखेका चार्जिङ स्टेसनहरु अनियन्त्रित छ । बढी नै शुल्क लिएको छ । १५ रुपैयाँ लिदाँ पनि १५ गुणा नै अन्य भन्दा सस्तो छ । तर त्यो शुल्कलाई नियन्त्रण गर्छौं । प्राधिकरणले सस्तोमा दिएपछि सस्तोमा दिनुपर्छ । विद्युतीय बस तथा माइक्रोबसको चार्जिङ सस्तो भएपछि भाडा पनि सस्तो हुनुपर्छ । भाडा पनि एउटै राखेको पाएका छौं । विद्युतीय सवारीमा चढेको भाडा पनि सस्तो हुनुपर्छ । बिस्तारै त्यसलाई पनि नियन्त्रण गर्छौं । हिजोसम्म विद्युतीय चार्जिङ स्टेसनको कुरा सोच्न समेत सक्ने थिएनौं । यो ठूलो परिर्वतन हो ।


क्लिकमान्डु