एक महिनापछि बैंक तथा वित्तीय संस्था आफैंले किने ट्रेजरी बिल्स, ब्याजदर ९.३० प्रतिशत



काठमाडौं । राष्ट्र बैंकले निष्कासन गरेको सबै ट्रेजरी बिल्स एक महिनापछि बैंक तथा वित्तीय संस्थाले खरिद गरेका छन् ।

एक महिनादेखि राष्ट्र बैंकले ट्रेजरी बिल्समा बैंक तथा वित्तीय संस्थाले बढी ब्याजदर प्रस्ताव गरेको भन्दै आफैं खरिद गरेको थियो । एक महिनापछि सोमबार नवीकरणअन्तर्गत निष्कासन भएको ट्रेजरी बिल्स राष्ट्र बैंक किन्नु परेन ।

राष्ट्र बैंकले नवीकरणअन्तर्गत ३ अर्ब १३ करोड रुपैयाँ बोलकबोल प्रक्रियाबाट सोमबार बिक्री गरेको थियो । ३ अर्ब १३ अर्ब रुपैयाँको ट्रेजरी बिल्स किन्नको लागि २० वटा बैंक तथा वित्तीय संस्थाले १०२ वटा प्रस्ताव राखेका थिए । बैंक तथा वित्तीय संस्थाले ३ अर्ब १३ करोड रुपैयाँको मागको लागि ९ अर्ब ६९ करोड रुपैयाँको आवेदन गरेका थिए ।

ट्रेजरी बिल्सको ब्याजदर ८.८९ देखि ९.३० प्रतिशतसम्म कायम भएको छ । सरकारले एकवर्षभन्दा कम समयको लागि लिने ऋणलाई ट्रेजरी बिल्स भनिन्छ ।


क्लिकमान्डु