पहिलो महिनामा आयो १ अर्ब १० करोडको वैदेशिक लगानी प्रतिवद्धता




काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

विदेशी लगानीको स्विकृत गर्ने निकाय उद्योग विभागको तथ्यांकअनुसार आइटी र सेवा क्षेत्रमा आधारित ४ परियोजनाको लागि उक्त लगानी प्रतिवद्धता आएको हो ।

यस महिनामा आइसीटीमा आधारित एक परियोजना दर्ता भएको छ । जसमा ५ करोड रुपैया बराबरको लगानी गर्ने र २२ जनालाई रोजगारी दिने जनाइएको छ ।

काठमाडौंमा सफ्टवेयर डेभलपमेन्ट उद्योग स्थापनाको लागि उक्त परियोजना दर्ता भएको हो ।

त्यस्तै, सेवा क्षेत्रमा ३ वटा परियोजनाहरु आएका छन् । जसमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको लागनी गर्ने उल्लेख छ । यसमा ३११ जनाले रोजगारी पाउने भनिएको छ ।

सेवा क्षेत्रमा आएका तीन परियोजनामध्ये काठमाडौंमा दुईवटा इन्टरनेसनल कार्गो होल्डिङ उद्योग सञ्चालन गर्ने उल्लेख छ । जसमा ५ करोड र ९५ करोडका दुई परियोजना सञ्चालन गर्ने भनिएको छ ।

त्यस्तै, रुपन्देही जिल्लामा आन्तरिक क्लियरेन्स डिपो संचालन र व्यवस्थापन गर्ने भनेर ५ कराड रुपैयाँ लगानीको प्रतिवद्धता जनाइएको छ ।


क्लिकमान्डु