कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
काठमाडौं । अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो। ‘यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ। मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ’, उनी भन्छिन्।
अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आएकी छिन्।
हाल क्यानडामा रहेकी नायिका एलिजा गौतमलाई तीजका कुरा गर्दा सानो बेलाका यादहरु आउने गर्छन्। यसपटक माइतीको हजुरआमा बितेकाले उनले तीज मनाएकी छैनन्। तर उनलाई तीजका यादहरू मनभरि आइरहेका छन्।
नायिका गौतम भन्छिन्, ‘तीज हामी नेपाली महिला दिदी–बहिनीको महान् चाड हो। पहिले–पहिले आमा हजुरआमाले मनाउँदाजस्तै रमाइलो अहिले पनि हुने गरेको छ, बिहे गरेका छोरी चेलीबेटी भेला भएर तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट ब्रत बस्दा छुट्टै रमाइलो हुन्छ।’
जो जहाँ जता भए पनि तीजमा चाहिँ सबै जनासँगै जम्मा भएर दुःख सुख साटासाट र नाचगान गर्ने चलन पहिलेदेखि चल्दै आएको छ।
‘चाडपर्वमध्ये तीजलाई मैले महान् चाडको रुपमा लिने गरेको छु’, उनी भन्छिन्, ‘तीजका बेलामा आलु र करेलाको पक्कु मेरो ममीले एकदमै मीठो बनाउनुहुन्छ, ढकनी, काँक्रोको अचार (खल्पी), ठेकीमा हालेको दही, काँक्रो, फर्सीको मुन्टा आदि सानैदेखि खाँदै हुर्केको भएर पनि होला तीज भन्नेबित्तिकै पुरानै याद आउँछ।’ यसपटकको तीजमा गौतमको काला चश्मा नृत्य निकै विवादित बनेको छ।
अभिनेत्री सञ्चिता लुइँटेल आफन्त, दिदीबहीनी एकदम टाढा–टाढा भएकाहरूसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा तीजलाई लिन्छिन्। ‘तीजमा मीठो परिकार दर बनाएर खाने, सुख, दुःख, वेदनालाई गीतमा अभिव्यक्त गरेर रमाइलो गर्ने गरिन्छ, तीज भन्नेबित्तिकै रातो सारी लगाएर शिवजीको व्रत बस्ने र पूजा गर्ने नै हो’, उनी भन्छिन्।
उनी अघि भन्छिन्, ‘मेरा दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौंला रमाइलो गरौंला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई म र ममीमात्र भएकाले अब हजुरमुमाका जाने र सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर मनाउने सोचमा छु।’
लोकगायिका पूर्णकला बिसी कार्यक्रमहरुमै व्यस्त छिन्। ‘सानैदेखि नाच्ने गाउने रमाइलो गर्ने पर्व भएका कारण मैले तीजलाई वशेष चाडका रूपमा लिने गरेको छु, आफू गीतसङ्गीततिर आबद्ध भएका कारण पनि मैले बच्चैदेखि तीजलाई मन पर्ने चाडको रुपमा लिन्छु’, उनी भन्छिन्। ‘बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो। जुनसुकै बेलामा कपडा खरिद गर्न सक्ने अवस्था थिएन वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ।’
उनी पोखरामा तीजका कार्यक्रम सकेर स्याङ्जा घरमा पुगेर तीज मनाउँदै छिन्। तीजका कार्यक्रममा प्रस्तुतिका लागि व्यस्त गायिका राधिका हमाल पनि तीजलाई विशेष चाडका रुपमा लिन्छिन्।
‘तीज संस्कार र संस्कृति बोकेको महिलाका लागि विशेष चाड हो। यसको परिभाषा मैले दिन त असम्भव छ, तर पनि नेपाली महिलाको विशेष चाडका रूपमा तीजलाई लिने गर्छु’, उनी भन्छिन्, ‘तीजमा मेरो विभिन्न कार्यक्रम त भइरहेको छ। त्योभन्दा पनि मैले तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने गरेको छु। यसपालिको तीजमा पनि बालबालिकालाई सहयोग गर्छु र ललितपुर लेलेमा तीज विशेष कार्यक्रममा सहभागी हुँदैछु।’
गायिका सुशीला पाठक ‘पापाकी परि’ गीतबाट चर्चामा आएसँगै कार्यक्रमतिर व्यस्त छिन्। अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ। ‘नारीहरूको महान् पर्वका रूपमा लिइने तीज म चाहिँ रमाइलो चाडका रुपमा लिन्छु। सबै जना भेला भयो, गायो, नाच्यो दिदीबहिनीले लगाएको हरियो, रातो सारी यस्ता विभिन्न कुराले गर्दा तीज रमाइलो लाग्छ’, उनी बताउँछिन्। -रासस