प्रतिनिधि सभामा ६० र प्रदेशमा १२० सिटमा माओवादीको दाबी, पर्सीसम्म सिट बाँडफाँट टुंगो लाग्छ: प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धन भित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष दाहालले तीन चरणमा सिटको भागबण्डा हुने दाबी गरे । १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने, २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने उनको भनाइ थियो ।

स्थानीय निर्वाचनमा जस्तो टिकट वितरणमा अनौठा घटना नहुने उनको भनाइ थियो । माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा ६० सिट र प्रदेश सभा सदस्यमा १२० सिट दाबी गर्ने प्रचण्डले बताए ।

‘आज मात्र प्रधानमन्त्री र कांग्रेसका नेताहरुसँग पनि मेरो कुरा भएको छ । हामी पर्सीसम्म संख्या टुंग्याउने प्रतिवद्धता छ,’प्रचण्डले भने,’हामीले प्रत्यक्षमा प्रतिनिधि सभामा ६० सिट भन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेश सभामा हाम्रो दाबी रहन्छ ।’

गठबन्धन अब पनि रहने की नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिवद्धता जनाए ।

एमालेप्रति लक्षित गर्दै उनले प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रही रहने दाबी गरे ।

नागरिकता विधेयकको गलत प्रचार गरेर नेकपा एमालेले चुनावी एजेण्डा बनाइरहेको आरोप प्रचण्डको थियो ।


क्लिकमान्डु