७ दिनभित्र जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको भन्दै महानगरले हटाउन दिएको निर्देशनविरुद्ध दायर रिटमा अदालतले संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
अदातलको आदेशपछि बालेनले अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए । अदालतविरुद्ध टिप्पणी गरेसँगै बालेनविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’
महानगर प्रमुखको यस्तो अभिव्यक्तिपछि अधिवक्ता दीपकराज जोशीले मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर गरेका थिए । सोमबार रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले ७ दिनभित्र जवाफ दिन बालेनका नाममा आदेश जारी गरेको हो ।