भोटाहिटीस्थित ‘सबवे’ मा बनाइएको अनधिकृत संरचना काठमाडौं महानगरले हटायो



काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना भत्काउने कामलाई निरन्तरता दिएको छ ।

यसैक्रममा महानगरले आइतबार भोटाहिटीस्थित ‘सबवे’ मा बनाइएको अनधिकृत संरचना हटाइरहेको छ । यो सब वेको प्रवेशमार्गमा पसल सञ्चालन भइरहेको थियो । महानगरका प्रहरीहरुले सबवे भत्काइरहेका छन् ।

महानगरले पछिल्लो समय नक्साविपरितका संरचना भत्काउने अभियानलाई तिब्रता दिएको छ । आजै महानगर प्रमुख (बालेन) ले अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेको स्पष्टीकरण दिएका छन् ।

केही दिन यता पार्किङको अनुमति लिएर अन्य प्रयोजनमा प्रयोग भइरहेको संरचना भत्काउन सक्रिय बनेका मेयर शाक्यले न्यायिक निरुपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्ने बताइरहँदा उनले गैरकानूनी कार्यको थप निरन्तरता रोक्न कार्यकारिणी अधिकारको प्रयोग गरेको दाबी गरेका छन् ।

आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न नपाउने उल्लेख गर्दै उनले निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गरेको स्मरण गराएका छन् ।

कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैंले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको शाहको भनाइ छ ।

शाहले कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानूनी आधार स्वतः शून्य हुने उल्लेख गरेका छन् ।

त्यस्तै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पनि भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाइपछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने महानगरको अभियानमा आफ्नो साथ रहेको स्पष्ट पारेकी छन् ।

एक अपिल जारी गर्दै उपमेयर डंगोलले भनेकी छन्,’सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ । त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’


क्लिकमान्डु