एनएलजी इन्स्योरेन्स र इ-बीमा बीच सम्झौता



काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्स्योरेन्स कम्पनीबिच सम्झौता भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो ।

सम्झौता अनुसार इ-बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न सकिनेछ । सम्झौता पत्रमा इ-बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशन ज्ञवाली र एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।

प्रबन्ध निर्देशक ज्ञवालीले एनएलजी इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई थप उजागर गरेको बताए । उनले जनतामा बीमा नीति डिजिटलीकरणको आवश्यकता बढ्दै गएको उल्लेख गरे ।

एनएलजी इन्स्योरेन्सका सीईओ पन्तले जनतामा बीमा नीतिहरूका लागि डिजिटलाइजेसनको आवश्यकता बताउँदै इ-बीमासँग गरिएको यो सम्झौतापछि बजारको आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।

बीमा क्षेत्रमा डिजिटलाइजेसनको आवश्यकतालाई अर्को प्रगतिशील पाइलाका रूपमा उल्लेख गर्दै पन्तले एनएलजी इन्स्योरेन्स यस सम्भावनालाई साकार पार्न र यसबाट जनतालाई नीतिहरू प्राप्त गर्न सहज बनाउन सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको बताए । इ-बीमा सन् २०१५ देखि विभिन्न बीमा उत्पादन र सेवाहरूलाई डिजिटलाइज गर्न सक्रिय छ ।


क्लिकमान्डु