३८ अर्ब कुल पुँजीसहित साउन महिनामा १० ठूला उद्योग दर्ता



काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा ३८ अर्ब कुल पुँजीसहित १० वटा ठूला उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार साउन महिनामा ३८ अर्ब १९ करोड ४ लाख ९७ हजार रुपैयाँको कुल पुँजीसहित १० वटा उद्योग दर्ता भएका हुन् ।

त्यस्तै, साउन महिनामा स्वदेशी तथा विदेशी लगानीमा १ अर्ब २७ करोड २८ लाख रुपैयाँको कुल पुँजीसहित ६ वटा मध्यम वर्गका उद्योग र २ अर्ब ६ करोड ३२ लाख ५० हजार रुपैयाँको १२ वटा साना उद्योग दर्ता भएका छन् । उक्त दर्ता भएको उद्योगबाट १९ सय ३४ जनाले रोजगारी पाउनेछन् ।

गत वर्षको सोही अवधिमा उद्योग विभागमा २१ अर्ब ९५ करोड २० लाख रुपैयाँको ११ वटा ठूला उद्योग दर्ता भएका थिए । त्यस्तै, ५ अर्ब ३५ करोड ७ लाख ६४ हजार रुपैयाँ कुल पुँजीको १५ वटा उद्योग र १ अर्ब ६२ करोड ५३ लाख १४ हजार रुपैयाँ कुल पुँजीको साना उद्योग दर्ता भएका थिए । गत वर्षको साउनमा देशभर साना, मध्यम र ठूला गरी ३९ वटा उद्योग दर्ता भएका थिए ।

गत वर्षको साउन महिनामा ३९ वटा उद्योग दर्ता भएकोमा यो वर्षको सोही अवधिमा भने २७ वटा उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउन महिनामा गत वर्षको तुलनाका कम उद्योग दर्ता भए पनि कुल पुँजी भने बढी छ ।

साउनमा झापा जिल्लाको मेचिनगरमा १ अर्ब ६९ करोड ७ लाख ७२ हजार कुल पुँजीको होटल ईष्टर्न नेपाल प्रालि दर्ता भएको छ । त्यसैगरी, भोजपुर जिल्लाको टेम्केमेयम गाउँपालिका तथा भोजपुर नगरपालिकामा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ कुल पुँजीसहित ७५ केभिएको सुम्निमा हाइड्रोपावर कम्पनीको पिखुवा पशुपति जलविद्युत आयोजना, काठमाडौंको बूढानीलकण्ठमा २ अर्ब ४० करोड रुपैयाँ कुल पुँजीको हेरिटेज होटेल, दोलखाको बिगु गाउँपालिकामा १०० केभीए विद्युत उत्पादन गर्ने गरी १६ अर्ब ४५ करोड ९८ लाख ३ हजार रुपैयाँ लगानीको तामाकोशी पाँचौं जलविद्युत आयोजना, झापाको मेचिनगरमै २ अर्ब ५१ करोड रुपैयाँ कुल पुँजीको ९५ बेड र १९० सिटसहितको रेष्टुरेन्टको सुविधा रहेको आयुष्मान होटल लिमिटेड र मोरङ जिल्लाको कटहरीमा १ अर्ब ५० करोड रुपैयाँ कुल पुँजीको जानकी पोलिकेम प्रालि उद्योग दर्ता भएका छन् ।

त्यसैगरी, मनाङको नासो गाउँपालिकामा ५ अर्ब ९६ करोड ७२ लाख ५० हजार रुपैयाँ कुल पुँजीसहित कार्बोनलेस इनर्जी फण्ड प्रालि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ कुल पुँजीको अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड (बुद्धम खोल जलविद्युत आयोजना), भोजपुरको षडानन्द नगरपालिकामा १ अर्ब ३२ करोड ८ लाख ६१ हजार कुल पुँजीसहित एस.के एनर्जी डेभलेपमेन्ट प्रालि र बझाङमा ३ अर्ब ३ करोड २७ लाख रुपैयाँ कुल पुँजीको ओमेगा इनर्जी डभलपर प्रालि (माथिल्लो सुनीगाड जलविद्युत आयोजना) गरी १० ठूला उद्योग दर्ता भएका छन् ।

१ अर्ब विदेशी लगानीसहित ९ वटा उद्योग दर्ता

साउन महिनामा ३८ अर्बको २७ वटा उद्योग दर्ता हुँदा १ अर्ब ४ करोड २५ लाख रुपैयाँ कुल पुँजीसहित ९ वटा उद्योग दर्ता भएका छन् । उक्त दर्ता भएको उद्योगमध्ये अधिकांश साना उद्योग छन् । दर्ता भएको उद्योगको तथ्याङ्कअनुसार ९ वटा उद्योगमध्ये ७ वटा साना छन् भने २ वटा मध्यम वर्गका उद्योग दर्ता भएका छन् ।

सो अवधिमा ५ करोड कुल पुँजीको ग्रीन इन्टेलीजेन्स नेपाल प्रालि, ६ करोड लगानीको लुवान स्टिल स्ट्रक्चर आर्किटेक्चरल डेकोरेशन डिजाइन इन्जिनियरिङ प्रालि, ५ करोड २५ लाख रुपैयाँ लगानीको वल्र्डवाइड कन्सर्न कन्स्ट्रक्सन कम्प्नी प्रालि, ५ करोड लगानीको याङ्ग याङ्ग इन्टरनेशनल कार्गो प्रालि, १५ करोड लगानीको मारिया होटल एण्ड रेष्टुरेन्ट र २० करोड विदेशी लगानीमा युवान नेपाल एण्ड रेष्टुरेन्ट प्रालि उद्योग दर्ता भएका छन् ।

साथै, १५ करोड विदेशी लगानीमा हुवालिन होटल एण्ड रेष्टुरेन्ट प्रालि, १३ करोड लगानीमा एन.एस. एस. पावर प्रालि र २० करोड लगानीमा आइ.पी लजिष्टिक प्रालि उद्योग दर्ता भएका छन् ।


क्लिकमान्डु