बैंकहरुको नाफाः अंकमा उकालो, प्रतिफलमा निरन्तर ओरालो



काठमाडौं । व्यवसायीहरुले लामो समयदेखि बैंकहरुले चर्को ब्याज लिए र अर्बौं नाफा कमाए भन्दै आलोचना गर्दै आएका छन्। बैंकहरु ऋणीमैत्री भएनन् बरु आफ्नो नाफा बढाउन मात्रै केन्द्रित भएको भन्ने उनीहरुको आरोप छ ।

वाणिज्य बैंकहरुले प्रकाशित गर्ने वित्तीय विवरणमा अर्बौं रुपैयाँ नाफा कमाएको तथ्यांकका आधारमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

त्यही कारण थियो २०७५ सालमा पूर्व (मोरङ तथा बिराटनगर क्षेत्र)का व्यवसायीहरु बैंंकविरुद्ध आन्दोलनमै उत्रिए ।

व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत व्यवसायीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर माग सम्बोधनको प्रयास गरे ।

बालुवाटारको भेटमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँगै तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपाल पनि सहभागी थिए ।

भेटमा प्रधानमन्त्री ओलीले बैंकहरुले चर्को ब्याज असूलेको भन्दै ब्याजदर घटाउन निर्देशन दिएका थिए । ओलीले बैंकहरु गाउँघरका साहुमहाजन जस्तै भएको भन्दै आलोचना पनि गरेका थिए ।

उनको भनाइको आशय थियो, बैंकहरुले ऋणीहरुसँग चर्को ब्याज असूल्दै धेरै नाफा कमाए । गाउँघरका साहूमहाजन जस्तै व्यवहार गर्न थाले ।

बैंकको नाफाको विषयलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले समेत संसदमै बैंकहरुको आलोचनासमे गरेका उदाहारण छन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संसदको अर्थ समितिले गठन गरेको पुँजी बजार तथा मुद्रा बजार सम्बन्धी अध्ययन उपसमितिकी संयोजकसमेत रहेकी रामकुमारी झाँक्रीले क्लिकमाण्डूसँग कुरा गर्दै बैंकहरु पञ्चायतकालका सुतखोरी जस्तै भएको आरोप लगाइकी थिइन् ।

बैंकहरुले ५ करोड रुपैयाँ बराबरको धितोमा लिएको डेढ करोड रुपैयाँको ऋण नवीकरण गर्न नदिने र लिलामी गर्दा बैंकहरु पञ्चायतकालका सुतखोरी जस्ता भएको भएको उनको भनाइ थियो ।

तर, तथ्यांक केलाउने हो भने, बैंकहरुको प्रतिफल भने पछिल्लो ४ वर्षमा औसतमा १० देखि १४ प्रतिशतको हाराहारीमा छ । के प्रतिफल अस्वाभाविक हो त ? बैंकका लगानीकर्ताहरुको बुझाइ भने भिन्नै छ ।

बैंकहरुले अत्यधिक नाफा कमाएको आरोपलाई नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे भने स्वीकार गर्दैनन् ।

क्लिकमाण्डूसँगको अन्तर्वार्तामा पाँडेले भनेका थिए- ‘वाणिज्य बैंकहरुको दिने प्रतिफल घट्दै गएको छ, अवस्था यस्तै रहे म बैंकिङ क्षेत्रबाट बाहिरन सक्छु ।’

उनको भनाइको तात्पर्य थियो, कुनै समय वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी (आरओई) २० प्रतिशतभन्दा माथि २२ प्रतिशतसम्म थियो । तर, अहिले त्यो घट्दै गइरहेको छ ।

‘मैले लगानीकर्ता गर्दा कम्तीमा २० प्रतिशतको प्रतिफल अपेक्षा गर्छु, यद्यपि अहिले १४/१५ प्रतिशतमा हुँदा पनि मलाई समस्या छैन । तर आरओई १० प्रतिशतभन्दा कम हुन थाल्यो भने मैले लगानी डाइभर्ट गर्नैपर्छ,’ उनले भनेका थिए ।

निजी क्षेत्रले लगानी गर्दा उचित प्रतिफल खोज्ने तर अहिले बैंकहरुबाट त्यसप्रकारको प्रतिफल घट्दै गएको बताएका थिए ।

‘यहाँ त बैंकहरुले मात्रै पैसा कमाएको जस्तो गरी प्रचारप्रसार गरिएको छ । अब बैंकहरुका सुनौला दिनहरु गइसकेका छन्,’ उनले भनेका थिए ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवन गोल्यान बैंकहरुले गरेको अर्बौं नाफाको तथ्यांककै भरमा धेरै कमाए भन्न नमिल्ने बताउँछन् ।

‘मैले ट्रेडिङ कम्पनीमा हेरेको ६ हजार प्रतिशतसम्म नाफा छ । त्यो मान्छेले बैंकले धेरै नाफा गर्यो र बैंकको स्प्रेडदर ३ प्रतिशतमा झारिदिनुहोस् भन्न मिल्दैन । हामीले पनि व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन हुँदैन भन्न मिल्दैन,’ उनले भने ।

गोल्यान बैंकहरुको नाफाको फिगर हेरेर नाफा बढ्यो भन्ने तर आरओई घट्यो भनेर नभन्ने गर्दा समस्या भएको बताउँछन् ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ साल माघ ७ गते कृषि विकास बैंकको वार्षिकोत्सवलाई सम्बोधन गर्दै बैंकहरुले २/३ अर्ब रुपैयाँ कमाउनु धेरै नभएको बताएका थिए ।

‘१५ अर्बको बैंकले १५ प्रतिशत मुनाफा बाँड्नुपर्यो भने पनि २ अर्ब रुपैयाँभन्दा बढी नाफा गर्नुपर्छ, बैंकहरुको नाफा २ अर्ब भएपछि व्यवसायी साथीहरुलाई आँखा लाग्छ, २/२ अर्ब नाफा, ३/३ अर्ब नाफा, ४/४ अर्ब नाफा अनि पुँजी कति छ भनेर नाफा नगरिदिने ?’ उनले भनेका थिए ।

तथ्यांकले के भन्छ ?

आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको कुल नेटवर्थ ६ खर्ब १७ अर्ब ८६ करोड २६ लाख रुपैयाँ छ । यो भनेको बैंकका लगानीकर्ताहरुको बैंकमा भएको लगानी वा पुँजी हो । गत वर्ष वाणिज्य बैंकहरुले ७४ अर्ब ८० करोड १४ लाख ३६ हजार रुपैयाँ नाफा कमाएकाक छन् । अर्थात्, गत आवमा बैंकहरुको लगानीमाथिको प्रतिफल (आरओई) १२.११ प्रतिशतमात्रै छ ।
पछिल्ला ४ वर्षको तथ्यांक हेर्दा रिटर्न अन इक्विटी (आरओई) औसतमा १२.०३ प्रतिशतमा सीमित भएको छ ।

यसको अर्थ हो गत आवमा वाणिज्य बैंकमा १०० रुपैयाँ लगानी गर्नेले औसतमा १२.११ रुपैयाँ कमाएका छन् । सेयरधनीको आम्दानी रिटर्न अन इक्विटी (सम्पत्ति माथिको प्रतिफल अर्थात् आरओई) भनिन्छ । कुल नाफालाई सेयरधनीको इक्विटी (रिजर्भ, रिटेन्ड अर्निङ र सेयर क्यापिटल)ले भाग गर्दा आरओई निस्कन्छ ।

सामान्यतयाः कुनै पनि व्यवसायले दिने प्रतिफल २० प्रतिशतभन्दा बढी हुनुलाई राम्रो मानिन्छ । तर, प्रतिफल २० प्रतिशत ओरालो लाग्न थाल्यो भने लगानीकर्ताहरु त्यस्ता कम्पनीमा लगानी गर्न कम आकर्षित हुन्छन् ।

जसमा पछिल्लो चार आर्थिक वर्षको तुलनामा वाणिज्य बैंकहरुको आरओई १३.४७ प्रतिशतले ओरालो लागेको छ । गत आर्थिक वर्षमात्रै वाणिज्य बैंकहरुको औसत आरओई १२.११ प्रतिशत छ ।

पहिले के थियो ?

आर्थिक वर्ष २०६९/७० मा वाणिज्य बैंकहरको कुल पुँजी ८३ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ थियो । उक्त वर्ष बैंकहरुले १५ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंकहरुले पुँजीमा २२ प्रतिशत प्रतिफल दिएका थिए ।

आव २०७४/७५ मा वाणिज्य बैंकहरुको कुल पुँजी ३ खर्ब ८८ करोड रुपैयाँ पुग्यो । उक्त वर्ष बैंकहरुले ४१ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएका थिए । यो भनेको पुँजीमा साढे १५ प्रतिशतको प्रतिफल हो ।

पछिल्लो ९ वर्षको अवधिमा बैंकहरुको पुँजी साढे ७ गुणाले बढेको छ । तर नाफा भने ५ गुणाले मात्रै बढेको छ । पुँजी बढे अनुसार नाफा बढ्न नसक्दा बैंकहरुको प्रतिफल घटेको हो ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा औसत आरओई ११.०६ प्रतिशत थियो भने आव २०७६/७७ मा यो १०.७६ प्रतिशतमा सीमित भएको थियो । त्यसैगरी आव २०७५/७६ मा भने औसत आरओई १४.१० प्रतिशत थियो ।

गत आवमा वाणिज्य बैंकहरुको नाफा २३.१४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको अन्त्यका तीन महिना बैशाख, जेठ र असार महिनामा कर्जाको ब्याजदर बढाएसँगै वाणिज्य बैंकहरुको आम्दानी पनि बढेको थियो । जसले गर्दा वाणिज्य बैंकको आरओई पनि बढेको हो ।

बैंकहरुको आम्दानी अन्तिम त्रैमासमा मात्रै ३२ प्रतिशत छ । अन्तिम त्रैमासमा बैंकहरुले ब्याजदर नबढाएको भए आरओई अझ कम हुने निश्चित थियो ।

यद्यपि वाणिज्य बैंकहरुले नाफा बढाउन अन्तिम तीन महिनामा लिएको नीति प्रभावकारी बन्यो र यसले नाफा र आरओई दुबै बढाउन सहयोग गर्यो ।

वाणिज्य बैंकहरुको पछिल्लो ४ वर्षको आरओई

रियल सेक्टरका कम्पनीको आरओई तीन गुणासम्म बढी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये वाणिज्य बैंकहरुको आरओई आरालो लाग्दा रियल सेक्टरका कम्पनीहरुको आरओआई भने तुलनात्मक रुपमा निकै राम्रो छ ।

अर्थात्, लगानीकर्ताका लागि वाणिज्य बैंकहरुले दिने प्रतिफलको तुलनामा त्यस्ता कम्पनीहरुको प्रतिफल तीन गुणासम्म बढी छ।

उदाहरणका लागि युनिलिभर नेपाललाई नै लिन सकिन्छ । सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा महंगो कम्पनी समेत रहेको युनिलिभरको आर्थिक वर्ष २०७८/७९ मा आरओआई ४१ प्रतिशत छ । त्यसैगरी हिमालयन डिस्टिलरीको आरओआई सोही आवमा ३७ प्रतिशत छ ।

साथै, कोलाकोला बिक्री गर्ने बाटलर्स नेपाल (बालाजु)को आव २०७८/७८ मा आरओई १६ प्रतिशत छ । जुन वाणिज्य बैंकहरुको औसत आरओईभन्दा बढी हो । यद्यपि कम्पनीको आरओई घट्नुमा तीन वर्षदेखि लाभांश वितरण नगर्नु हो ।

आव २०७४/७५ मा बाटलर्स नेपाल (बालाजु)को आरओआई करिब २८ प्रतिशत थियो । त्यसपछिका तीन वर्षमा कम्पनीले लाभांश वितरण गरेको छैन । जसका कारण लाभांश वापत वितरण हुने रकम नेटवर्थमा जोडिँदै गयो ।

तत्कालीन समयमा ३ अर्ब ४० करोड रुपैयाँ नेटवर्थ रहेको कम्पनीको आजका दिनमा आइपुग्दा बढेर ५ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । लाभांश नबाँडी नेटवर्थ बढाउँदा आरओई घटेको हो ।

मुद्दति निक्षेप बराबरकै प्रतिफल

मानौ तपाईंले आजका दिनमा नेपाल एसबीआई बैंकमा एक वर्षे मुद्दति निक्षेपमा रकम राख्नु भयो ११.०३ प्रतिशतसम्म प्रतिफल पाउनुहुन्छ । यसमा तपाईंलाई सेयर बजारमा जस्तो जोखिम पनि छैन ।

तर, सोही बैंकमा सेयर बजारमार्फत् लगानी गर्नु भयो भने गत आवको तथ्यांकअनुसार आरओई जम्मा ९.५७ प्रतिशत मात्रै छ । र, यसमा जोखिम पनि छ ।

हाल एक वर्षे अवधिको व्यक्तिगत मुद्दति निक्षेपतर्फ वाणिज्य बैंकहरुले ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् भने रेमिट मुद्दतिमा १ प्रतिशत थप ब्याजदर दिँदै आएका छन् ।

गत आवको तथ्यांक अनुसार ७ वटा वाणिज्य बैंकहरुको आरओई मुद्दति निक्षेपमा दिइरहेको ब्याजदर ११.०३ प्रतिशतभन्दा कम छ ।

पछिल्लो ४ वर्षमा कुन बैंकको आरओई कति ?

१) एनआईसी एशिया बैंक

पछिल्लो ४ वर्षमा सबैभन्दा राम्रो आरओई एनआईसी एशिया बैंकको छ । यस अवधिमा बैंकको औसत आरओई १७.९८ प्रतिशत छ । आव २०७५/७६ मा २०.२४ प्रतिशत, आव २०७६/७७ मा १७.९७ प्रतिशत, आव २०७७/७८ मा १५.७१ प्रतिशत र आव २०७८/७९ मा १७.९९ प्रतिशत छ ।

२) राष्ट्रिय वाणिज्य बैंक

चार वर्षको अवधिमा बैंकको आरओई औसतमा १७.६३ प्रतिशत छ । जसमध्ये आव २०७५/७६ मा २३.३८ प्रतिशत, आव २०७६/७७ मा १८.९९ प्रतिशत, आव २०७७/७८ मा १२.५८ प्रतिशत र आव २०७८/७९ मा १५.५७ प्रतिशत छ ।

३) सानिमा बैंक

बैंकको आरओई ४ वर्षको अवधिमा औसतमा १५.३५ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १८.८३ प्रतिशत, आव २०७६/७७ मा १३.८६ प्रतिशत, आव २०७७/७८ मा १५.३१ प्रतिशत र आव २०७८/७९ मा १३.४० प्रतिशत छ ।

४) हिमालयन बैंक

चार वर्षको अवधिमा बैंकको औसत आरओई १४.५४ प्रतिशत छ । जसमा आव २०७५/७६ मा १७.२८ प्रतिशत, आव २०७६/७७ मा १४.७१ प्रतिशत, आव २०७७/७८ मा १४.९३ प्रतिशत र आव २०७८/७९ मा ११.२३ प्रतिशत छ ।

५) सिद्धार्थ बैंक
समीक्षा अवधिमा सिद्धार्थ बैंकको औसत आरओई १४.२७ प्रतिशत छ । जसमा बैंकको आरओई आव २०७५/७६ मा १५.०२ प्रतिशत, आव २०७६/७७ मा १३.३९ प्रतिशत, आव २०७७/७८ मा १४.०० प्रतिशत र आव २०७८/७९ मा १४.९६ प्रतिशत छ ।

६) नबिल बैंक

यस अवधिमा बैंकको औसत आरओई १३.६६ प्रतिशत छ । बैंकको आरोई आव २०७५/७६ मा १८.२८ प्रतिशत, आव २०७६/७७ मा १३.३९ प्रतिशत, आव २०७७/७८ मा १३.५२ प्रतिशत र आव २०७८/७९ मा ९.४६ प्रतिशत छ ।

७) प्राइम बैंक

पछिल्लो चार वर्षमा बैंकको आरओई औसतमा १३.५८ प्रतिशत छ । जबकी आव २०७५/७६ मा १६.४० प्रतिशत, आव २०७६/७७ मा १०.९७ प्रतिशत, आव २०७७/७८ मा १३.६० प्रतिशत र आव २०७८/७९ मा १३.३६ प्रतिशत छ ।

८) माछापुच्छे बैंक

पछिल्लो चार वर्षमा बैंकको औसत आरओई १३.२९ प्रतिशत छ । जबकी आव २०७५/७६ मा १५.१० प्रतिशत, आव २०७६/७७ मा १०.९२ प्रतिशत, आव २०७७/७८ मा १२.६६ प्रतिशत र आव २०७८/७९ मा १४.४६ प्रतिशत छ ।

९) ग्लोबल आईएमई बैंक

चार वर्षको तथ्यांक हेर्दा बैंकको औसत आरओई १२.९५ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १५.०९ प्रतिशत, आव २०७६/७७ मा १०.०९ प्रतिशत, आव २०७७/७८ मा १२.६२ प्रतिशत र आव २०७८/७९ मा १४.०२ प्रतिशत छ ।

१०) एभरेष्ट बैंक

समीक्षा अवधिमा बैंकको आरओई १२.७२ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १७.३३ प्रतिशत, आव २०७६/७७ मा १३.५० प्रतिशत, आव २०७७/७८ मा ८.८४ प्रतिशत र आव २०७८/७९ मा ११.२२ प्रतिशत छ ।

११) स्ट्यान्डर्ड चार्टर्ड बैंक

चार वर्षेको तथ्यांक हेर्दा बैंकको औसत आरओई १२.६६ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १६.३१ प्रतिशत, आव २०७६/७७ मा १३.१६ प्रतिशत, आव २०७७/७८ मा ८.६४ प्रतिशत र आव २०७८/७९ मा १२.५४ प्रतिशत थियो ।

१२) सनराइज बैंक

सनराइज बैंकको चार वर्षमा औसत आरओई ११.७६ प्रतिशत छ । जबकी आव २०७५/७६ मा १३.९० प्रतिशत, आव २०७६/७७ मा १०.१५ प्रतिशत, आव २०७७/७८ मा १०.१४ प्रतिशत र आव २०७८/७९ मा १२.८६ प्रतिशत थियो ।

१३) एनएमबि बैंक

चार वर्षको अवधिमा बैंकको आरओई औसतमा ११.५४ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १२.९७ प्रतिशत, आव २०७६/७७ मा ८.१८ प्रतिशत, आव २०७७/७८ मा ११.४० प्रतिशत र आव २०७८/७९ मा १३.६० प्रतिशत थियो ।

१४) कृषि विकास बैंक

चार वर्षमा बैंकको औसत आरओई ११.५१ प्रतिशत छ । जबकी आव २०७५/७६ मा १४.७१ प्रतिशत, आव २०७६/७७ मा ११.७० प्रतिशत, आव २०७७/७८ मा ११.६७ प्रतिशत र आव २०७८/७९ मा ७.९७ प्रतिशत आरओई थियो ।

१५) नेपाल इन्भेष्टमेन्ट बैंक

चार वर्षमा बैंकको औसत आरओई ११.२९ प्रतिशत छ । जबकी बैंकको आरओई आव २०७५/७६ मा १३.०० प्रतिशत, आव २०७६/७७ मा ८.९२ प्रतिशत, आव २०७७/७८ मा ११.३२ प्रतिशत र आव २०७८/७९ मा ११.९२ प्रतिशत छ ।

१६) प्रभु बैंक

प्रभु बैंकको चार वर्षको औसत आरओई ११.२२ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १२.४५ प्रतिशत, आव २०७६/७७ मा ७.७६ प्रतिशत, आव २०७७/७८ मा ११.५५ प्रतिशत र आव २०७८/७९ मा १३.१० प्रतिशत थियो ।

१७) मेगा बैंक

मेगा बैंकको चार वर्षमा औसत आरओई ११.१३ प्रतिशत मात्रै छ । बैंकको आरओई आव २०७५/७६ मा १२.०६ प्रतिशत, आव २०७६/७७ मा ८.८१ प्रतिशत, आव २०७७/७८ मा ११.३४ प्रतिशत र आव २०७८/७९ मा १२.३३ प्रतिशत छ ।

१८) बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको चार वर्षको औसत आरओई १०.८४ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १३.५८ प्रतिशत, आव २०७६/७७ मा १०.२३ प्रतिशत, आव २०७७/७८ मा ९.४१ प्रतिशत र आव २०७८/७९ मा १०.१६ प्रतिशत थियो ।

१९) नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकको चार वर्षमा औसत आरओई १०.६१ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १६.२० प्रतिशत, आव २०७६/७७ मा १०.४४ प्रतिशत, आव २०७७/७८ मा ६.२४ प्रतिशत र आव २०७८/७९ मा ९.५७ प्रतिशत छ ।

२०) लक्ष्मी बैंक

लक्ष्मी बैंकको चार वर्षको औसत आरओई १०.३१ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १२.५७ प्रतिशत, आव २०७६/७७ मा १०.१० प्रतिशत, आव २०७७/७८ मा ९.१६ प्रतिशत र आव २०७८/७९ मा ९.४० प्रतिशत छ ।

२१) कुमारी बैंक

कुमारी बैंकको चार वर्षको औसत आरओई १०.२८ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा १०.५० प्रतिशत, आव २०७६/७७ मा ६.७१ प्रतिशत, आव २०७७/७८ मा १०.५३ प्रतिशत र आव २०७८/७९ मा १३.३८ प्रतिशत छ ।

२२) सिटिजन्स बैंक

सिटिजन्स बैंकको चार वर्षमा औसत आरओई १०.०३ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा ११.७१ प्रतिशत, आव २०७६/७७ मा ८.९३ प्रतिशत, आव २०७७/७८ मा ८.५६ प्रतिशत र आव २०७८/७९ मा १०.९० प्रतिशत थियो ।

२३) एनसीसी बैंक

एनसीसी बैंकको चार वर्षमा औसत आरओई ९.४८ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा ८.५० प्रतिशत, आव २०७६/७७ मा ८.४२ प्रतिशत, आव २०७७/७८ मा ८.७२ प्रतिशत र आव २०७८/७९ मा १२.२८ प्रतिशत थियो ।

२४) नेपाल बैंक लिमिटेड

नेपाल बैंकको चार वर्षमा औसत आरओई ८.७५ प्रतिशत छ । बैंकको आरओई आव २०७५/७६ मा ८.८७ प्रतिशत, आव २०७६/७७ मा ७.७७ प्रतिशत, आव २०७७/७८ मा ९.२२ प्रतिशत र आव २०७८/७९ मा ९.१३ प्रतिशत छ ।

२५) सेञ्चुरी बैंक

सेञ्चुरी बैंकको चार वर्षे अवधिमा औसत आरओई ८.७५ प्रतिशत मात्रै छ । बैंकको आरओई आव २०७५/७६ मा ६.७७ प्रतिशत, आव २०७६/७७ मा ७.६१ प्रतिशत, आव २०७७/७८ मा ६.७९ प्रतिशत र आव २०७८/७९ मा ११.१३ प्रतिशत छ ।

२६) सिभिल बैंक

सिभिल बैंकको चार वर्षमा औसत आरओई ८.०८ प्रतिशत छ । बैंकका गत आवमा आरओईमा सुधार गरेको छ । त्यसअघिका तीन वर्षमा ६ देखि ७ प्रतिशतमा रहेको बैंकको आरओई गत आवमा बढेर ११.१३ प्रतिशत पुगेको छ । बैंकको आरओई आव २०७५/७६ मा ६.७७ प्रतिशत, आव २०७६/७७ मा ७.६१ प्रतिशत, आव २०७७/७८ मा ६.७९ प्रतिशत थियो ।


कमलकुमार बस्नेत