काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका हुन् ।

फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ ।

‘तीन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो’ शर्माले भने, ‘काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालीन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पुर्‍याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तीन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन ।’


क्लिकमान्डु