राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुको भूमिका आवश्यक: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थायित्वका लागि सबै राजनीतिक दलहरुको भूमिका रहने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिष्ट लिग, नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रलाई राजनीतिक स्थायित्व दिन सबै दलहरुले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताए ।
विभिन्न खालका आग्रह, पूर्वाग्रह हुँदा राष्ट्रलाई एकतावद्ध गर्ने, देशको राजनीतिलाई स्थायित्वतिर लैजाने सुशासन र विकासलाई इमान्दारिताको साथ अगाडि बढाउन समस्या हुने उनको भनाइ थियो ।

प्रचण्डले सुशासन स्थापना र देशको विकासको निम्ति पनि सबै दलको सामूहिक भूमिकाको आवश्यकता पर्ने उल्लेख गरे ।

प्रचण्डले परिवर्तनका वाहकहरुलाई पन्छाएर परिवर्तन बिरोधीहरुको हातबाट देशमा सुशासन र विकास असम्भव भएको प्रमाणित गर्नका लागि चुनौतीको सामाना गर्न तयार रहनु पर्ने बताए । ‘देशमा राजनीतिक इच्छाशक्तिसहितको दृढ राजनीतिक नेतृत्वको अभावमा राजनीतिक स्थायित्व कायम गर्न सकिएको छैन अझै पनि’ उनले भने ।


क्लिकमान्डु