राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिता ऐनको संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको छ ।

प्रतिनिधि सभाको बहुमतले पुरानै विधेयकलाई नै पारित गरेको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको विधेयकलाई प्रमाणिकरण नगरेर प्रतिनिधि सभामा फर्काएकी थिइन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले बहमुतले नागरिकता विधेयक पास गरेको हो । विधेयकको पक्षमा प्रतिनिधि सभामा उपस्थित १९५ सांसदमध्ये विधेयक पारित गर्ने पक्षमा १३५ मत दिएका थिए। त्यस्तै विपक्षमा ६० सांसदले मत दिएका छन् ।

सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरे ।

यस अघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए ।

प्रमुख प्रतिपक्ष दल एमाले नेतृत्वको अघिल्लो सरकारले ल्याएको विधेयक अनुसार नै सो विधेयक आएकाले त्यसको विरोध गर्न नमिल्ने तर्क गरे ।

गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरे ।

प्रतिनिधि सभाबाट पास भएको विधेयक राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाबाट पास भएर राष्ट्रपतिको प्रमाणीकरणको लागि विधेयक जाने छ । यो पटक भने राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने अधिकार छैन ।


क्लिकमान्डु